वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

कैलाली । २०७९ चैत १८ गते

घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समुह र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त आयोजनामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला चैत १७ गते सुखडमा सम्पन्न भएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावलले वातावरण संरक्षण र अधिकार मानव जिवनको लागि नभइ नहुने भएकाले वातारवण संरक्षणका क्षेत्रमा नगरपालिकाले पहल गर्ने बताउनु भयो । उहाँले वातावरण संरक्षण गरी नागरिकको मौलिक अधिकारको प्रत्याभूति गर्ने मुख्य जिम्मेवारी राज्यको भएकोले वातावरण संरक्षण ऐन २०७६ र नियमावली २०७७ अनुसार घोडाघोडी नगरपालिकाले पनि वातावरण संरक्षण ऐन नियमावली बनाएर नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

घोडाघोडी नगरपालिका विपद् व्यावस्थापन शाखा प्रमुख उत्तम कुँवरले फोहार व्यवस्थापन गर्न नसक्दा वातावरण संरक्षण गर्न चुनौती रहेकाले वातावरण संरक्षण नीति निर्माण गरेर काम गर्नु पर्ने बताउनु भयो । उहाँले घोडाघोडी नगरपालिका वातावरणको धनी भएकाले यसको संरक्षण गर्न स्थानीय सरकार र आम नगरिकको पनि दायित्व रहेको बताउनु भयो । मानव अधिकार समुहका अध्यक्ष सावीत्रा आचार्यले वातावरण संरक्षण ऐन २०७६ कार्यान्वयनका लागि मानव अधिकार समुहले निरन्तर आवाज उठाइरहने र स्थानीय तहसँग वातावरण संरक्षणका लागि सहकार्य गरी सहयोग गर्न तयार रहेको बताउनु भयो ।

मैनामोती चौधरी