वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न
कैलाली । २०८० वैशाख २२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसीएको सहयोगमा वैशाख २१ र २२ गते आयोजित दुई दिने वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया तथा क्षमता अभिबृद्धि तालिम वैशाख २२ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले वातावरणीय अधिकार मानव जिवनसँग प्रत्यक्ष जोडिएको हुनाले राज्यले यस विषयप्रति गम्भिर नभएका कारण मानव अधिकार रक्षकहरुले नीतिगत तहमा पैरवी गर्न आवश्यक रहेको बताउनु भयो । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले संवैधानिक व्यवस्था अनुसार वातावरणीय अधिकार पनि मौलिक हकको रुपमा रहेकाले वातावरण अधिकारसम्बन्धी समस्या पहिचान गरी मानव जिवनमा पारेको प्रभावको अध्ययन गरी कानुनी प्रकृयामा जान सकिने बताउनु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले वातावरण अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन बारे मानव अधिकार रक्षकहरुलाई जानकारी गराइ स्थानीय तहमा नीतिगत ऐन कानुन निर्माण गर्न पैरवी गर्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरीप्रसाद ज्ञवाली, इन्सेकका प्रदेश संयोजक खडकराज जोशी, सचितानन्द जोशी, कृष्णबहादुर विश्वकर्माले वातावरणीय अधिकारसँग सम्बन्धीत विषय तथा मानव अधिकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय सयन्त्र तथा मानव अधिकार अनुगमन, अभिलेखिकरण र प्रसारका सन्दर्भमा सहजीकरण गर्नु भएको थियो । दुई दिनसम्म सञ्चालित तालिममा कैलाली र कञ्चनपुरका बिभिन्न स्थानीय तहका मानव अधिकार समुह, जिल्ला र प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका पदाधिकारी तथा मानव अधिकार रक्षकहरुको सहभागीता रहेको थियो ।
मैनामोती चौधरी