वातावरणीय मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय छलफल सम्पन्न
बाँके । २०८१ असोज ११ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको छलफल ०८१ असोज ११ गते सम्पन्न भएको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले सरोकारवाला निकायले वातावरणीय सवाललाई प्राथमिकतामा पर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले विपद् तथा जलवायु परिवर्तनले गरिब निमुखा तथा, बालबालिका सुत्केरी महिलाहरू बढी जोखिमको चपेटामा पर्ने गरेको बताउनु भयो ।
वातावरणीय अधिकार अभियानलाई प्रभावकारी बनाउन अधिकारकर्मीहरूको निकै ठूलो भूमिका रहेको उहाँले बताउनु भयो । उहाँले वातावरण अधिकारको सवालमा सचेतना तथा नीतिगत पैरवी गर्ने र राज्यलाई जवाफदेही बनाउनु पर्नेमा जोड दिनुभयो ।
राप्तीसोनारी गाउँपालिका स्तरीय मानव अधिकारकर्मी धनी वलीले राज्यले वातावरण संरक्षणसम्बन्धी निर्माण गरेका कानुनको कार्यान्वयन गर्नका लागि नागरिक समाज सङ्घसंस्थाहरू मिलेर आवाज उठान गर्न आवश्यक रहेको बताउनु भयो । त्यस्तै डुडुवा गाउँपालिका स्तरीय मानव अधिकारकर्मी भागीरथी चन्दले जङ्गलमा लागेको आगोले खरानी बगेर खोला, नदीमा मिसिएपछि माछाहरू मर्ने गरेको बताउनु भयो । यसरी वातावरण प्रदुषण बढ्दै जाँदा खडेरी पर्ने गरेको उहाँको भनाइ छ ।
ध्रुबराज शर्मा