वातावरण अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
सुर्खेत । २०८० माघ ८ गते
स्थानीयस्तरमा वातावरण अधिकारसम्बन्धी एकदिने कार्यशाला पञ्चपुरी नगरपालिकामा सम्पन्न भएकाे छ । इन्सेक कर्णाली प्रदेश कार्यालयकोे आयोजना, पञ्चपुरी मानवअधिकार समूहको समन्वय र बाल अधिकार समूहको सहकार्यमा माघ ०८ गते सम्पन्न गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष खिमबहादुर बयकले स्थानीय स्तरमा पनि वातावरण संरक्षणसम्बन्धी ऐनहरु बनाउन आवश्यक रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले स्वच्छ वातावरणमा जीवन जिउन पाउने मानव अधिकार रहेकोले त्यसको संरक्षणमा ध्यानदिनुपर्नेे बताउनुभयो । उहाँले पालिकामा वातावरण शाखा आवश्यक रहेको बताउँदै खानेपानी तथा स्वच्छता ऐन बनाउने काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयका प्रमुख बलम लाल चौधरीले वातावरण संरक्षणसम्बन्धी कार्यक्रम गर्नुपूर्व त्यसको मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले वातावरण जोगाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औंल्याउनु भयो ।
त्यस्तै कृषि शाखा प्रमुख दिपेन्द्र न्यौपानेले वातावरण कृषिमा प्रत्यक्ष जोडिएकोले त्यसमा प्रभावपार्ने विषयमा वहस गर्नुपर्ने बताउनुभयो । यूएनडिपीको सम्बन्ध परियोजनाका कर्मचारी शुसील घिमिरेले वातावरण संरक्षण गर्न आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको खुला छलफलमा विद्या ज्योति माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद सापकोटाले विश्वको वातावरण बिग्रदै गएरहेका बेला यसको संरक्षण गर्न सचेतना जागाउनुपर्ने बताउनुभयो । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाशपार्दै वातावरण अधिकारसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले वातावरण संरक्षण गर्न ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाल अधिकार समूह, विद्यालयका प्रध्यानाध्यापक, शाखाका प्रमुख, प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन इन्सेकको मानव अधिकार शिक्षा कार्यक्रमकी जिल्ला सहकर्ता ललिता विकले गर्नुभएको थियो ।
जगतदल जनाला विक