वातावरण अधिकार सम्बन्धी कार्यशाला
सप्तरी । २०८० पुस १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा शम्भुनाथ नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालयमा ०८० पुस १२ गते वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा शंकर साहले वातावरण विनासको बिषय सबैको साझा विषय भएकोले मानव अधिकार समूह र सम्बन्धित निकायले यस बिषयलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो । स्थानीय स्तरमा भएका वातावरण सम्बन्धित सम्पूर्ण नीति चरणहरूको जानकारी दिनुहुँदै उहाँले प्लाष्टिकको प्रयोगले वातावरणमा प्रत्यक्ष र अप्रत्यक्ष असर पर्न जाने बारे सजग गराउनु भयो । सडने र नसडने फोहोरको अलग व्यवस्थापन गर्नुपर्ने, वातावरण रक्षाको लागि सबै एकजुट हुनुपर्ने र बिभिन्न योजना बनाई अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । मानव अधिकार समूहका अध्यक्ष पुलकित भगतले अबका दिनमा योजनाबद्ध तरिकाले वातावरण तथा सरसफाई कार्यक्रम सञ्चालन गर्न सबै एकजुट हुनुपर्ने र वातावरण बचाउ तथा सुधार तर्फ जवाफदेही बन्नुपर्ने बताउनु भयो ।
मानव अधिकार समूहकी उपाध्यक्ष देवी माया भट्टराईले वातावरण र विकासलाई सन्तुलित ढङ्गले अगाडि बढाए मात्र जीवन र पृथ्वीको सुरक्षा गर्न सकिने भएकाले सबै सरोकारवाला निकाय र स्थानीय समुहले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने बनाइ राख्नु भयो । रामदयाल माध्यमिक विद्यालय संरक्षण शिक्षक अशोक साहले हाम्रै कारणले हाम्रो गाउँ घर वरपर वातावरण प्रदुषण भइरहेको स्विकार्नु भयो । उहाँले खुला मैदानमा दिसा पिसाब गर्ने, पानी जम्ने, अव्यवस्थित फोहोर मैला गर्ने कारणले बिभिन्न संक्रमण हुने गरेकोले वातावरण प्रदुषण रोक्न घर परिवारबाटै अघि बढनु पर्ने बताउनु भयो । मानव अधिकार समूह र बालअधिकार सचेतना समूहको समन्वयमा भएको कार्यक्रममा रामदयाल माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयअन्तर्गत बाल अधिकार सचेतना समुहका सदस्यहरू समेत ५१ जनाको सहभागिता रहेको थियो ।
मनोहरकुमार पोखरेल