वातावरण संरक्षण सम्बन्धी कार्यशाला सम्पन्न
सुर्खेत । २०७९ फागुन १० गते
सुर्खेतको बराहताल गाउँपालिकामा स्थानीय स्तरमा वातावरण संरक्षण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । मानव अधिकार समूह, बाल अधिकार समूह, स्थानीय सरकार र बजार व्यवस्थापन समितिको सहभागितामा कार्यक्रम फागुन ९ गते सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले वातावरण संरक्षण आजको आवश्यकता रहेका कारण यस्ता कार्यक्रम स्थानीय स्तरमा गर्न आवश्यक रहेको बताउनु भयो । वातावरण संरक्षण गर्नु सबैको दायित्व भएको बताउदै स्थानीय सरकारले पनि यस्ता कार्यक्रमलाई आगामी दिनमा गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । यस्तै बराहताल गाउँपालिकाका वडा नं ५ का वडाध्यक्ष धिमराज जोल्मी मगरले वातावरण संरक्षणका कार्य आफैबाट सुरु गर्नुपर्नेमा जोड दिनु भयो । स्थानीय सरकार मात्र नभएर विभिन्न संघ संस्थाले पनि दायित्व रहेको उहाँको भनाई छ ।
यस्तै मानव अधिकार समूहका संयोजक तिलक मारसंगी मगरले जति पनि वातावरण संरक्षणका लागि नीति निर्माण गरिएको छ सोही अनुरूप कार्यान्वयन तर्फ लाग्नुपर्नेमा जोडदिनु भयो । साथै संयोजक मगरले पालिकालाई वातावरण मैत्री पालिका बनाउनुपर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा जनज्योति मावि का शिक्षक पार्वती थापा र सुर्यज्योती माविका प्रधानाध्यापक केशर बहादुर गौतम लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको प्रस्तुति तथा सहजीकरण इन्सेक कर्णाली प्रदेश सुर्खेत जिल्लाका सहजकर्ता ललिता विश्वकर्मा ओडले गर्नु भएको थियो ।
प्रभाकुमारी रावत