








काठमाडौँ । २०७९ असार १४ गते
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा असार १४ गते चितवनको सौरहामा केन्द्रीय वार्षिक समीक्षा बैठक सुरु भएको छ । दुई दिने कार्यक्रममा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कामको मूल्याङ्कन आफैँले गर्ने र यसको साख जोगाइनु पर्ने बताउनु भयो । डाक्टर श्रेष्ठले अधिकार प्राप्तिका लागि गरेको अभियानबाट धेरै व्यक्ति राजनीतिक नेतृत्वमा पुगिसके पनि अझै मानव अधिकार आन्दोलनको आवश्यकता रहेको बताउनु भयो । इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले गरेका कामको स्थायित्वको दायित्व पनि इन्सेकसँग नै रहने बताउनु भयो । उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारको संरक्षणका लागि गरेको योगदान र स्थानीय तहमा गरेका कामका मूख्य उपलब्धिलाई अभिलेख गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका प्रतिनिधिले गर्ने व्यवस्थापन प्रमुख सुबेच्छा खड्काले बताउनु भयो । मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रम, मानव अधिकार शिक्षा कार्यक्रमले गरेका कामको उपलब्धि, पीडितको रहात, जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमबाट प्राप्त उपलब्धि र सफलताका कथाको प्रस्तुति गरिने छ । मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईँले कार्यक्रमको समीक्षाको प्रस्तुतिकरण गर्दै परियोजनाले लक्ष्य गरेका उपलब्धि ८० प्रतिशत भन्दा बढी पुरा भइसकेको बताउनु भयो । सोही विभागकी सम्झा श्रेष्ठले मानव अधिकारको क्षेत्रमा कार्यरत विभिन्न सञ्जालसँगको समन्वय र सहकार्य गर्दै इन्सेकले मानव अधिकार रक्षक, युपिआर लगायतका कानुन तथा ऐन निर्माणमा काम गर्दै आएको बताउनु भयो । मानव अधिकार शिक्षा कार्यक्रमका प्रमुख मदन पौडेलले जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमले सेवाप्रदायक निकाय र सेवाग्रहीबिच पुलको काम गर्न सफल भएको बताउनु भयो ।
अनलाइन डेस्क