वार्षिक समीक्षा गोष्ठी सम्पन्न

सप्तरी । २०७९ पुस १५ गते

नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको पुस १५ गते बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व गरिएको समीक्षामा जिल्लाको मानव अधिकारको अवस्थाबारे बोल्दै सहभागीहरुले घटनाको कारण र निराकरणका उपायबारे खोजी गनुपर्ने बताए ।  पुस्तक प्रकाशन पूर्व गरिएको समीक्षा गोष्ठिमा इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा ८९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा बढी चर्चामा रहेको घटनामा सशस्त्र असईको हत्या घटना र देवरले पेट्रोल छर्केर आगो लगाई भाउजुको हत्या गरेको घटना रहेको छ । कार्यक्रममा पछिल्लो समय बालबालिकासम्बन्धी हिंसाका घटना बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । इन्सेकले सार्वजनिक गरेको सन् २०२२ को प्रतिवेदनमा अभिलेखित ८९ हिंसाका घटनामध्ये बालअधिकार हनन्को घटना मात्रै ३१ ओटा सार्वजनिक भए पछि सरोकारवाला चिन्तित बनेका हुन् । बालबालिका रिसिबीको निशानामा परिरहेको र बलात्कार, अपहरण, हत्याजस्ता घटना भइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले समस्याको कारण केलाउने र निराकरण गर्नेतर्फ सबैको ध्यान जानु पर्ने बताउनु भयो । एक वर्षको अवधिमा पीडित र नागरिकबाट प्राप्त सूचना तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीपछि विभिन्न सरोकारवाला निकायको सहयोगमा इन्सेकले गरेको अध्ययन बमोजिम घटना सङ्कलित भएको इन्सेक प्रतिनिधि पोखरेलले बताउनु भयो ।

कतिपय घटना सार्वजनिक हुन नसकेको स्विकार्दै इन्सेकले बालिका बलात्कारको २१ घटनामा नौ देखि १८ वर्ष भित्रका २१ जना बालिका पीडित भएको जानकारी दिएको छ । बलात्कारका २१ घटनामा एउटा बलात्कारसँगै गर्भपतन, एउटा बलात्कारसँगै अपहरण तथा एउटा मानव वेचविखन ओसारपसारसँगै बलात्कार घटना जोडिएको छ । आरोपित १२ वर्षदेखि ६८ वर्षका २७ जना छन् । जसमा एक जनालाई १० वर्षको कैद सजाय भएको छ । दश जना पुर्पक्षका लागि थुनामा, पाँच जना फरार र दुई जना हालै पक्राउ परेका छन् । बालबिज्याईकर्ता बालकको संख्या पनि बढेको छ । बलात्कार घटनाका आरोपित ६ जना बालसुधार गृहमा र एक जना संरक्षकको जिम्मामा छन् । इन्सेक प्रतिवेदनअनुसार गत वर्ष बालिका बलात्कारको १६ घटनामा १७ जना पीडित भएकी थिइन् । यो वर्ष बाल यौन दुर्व्यवहारका ६ घटनामा १३ देखि १७ वर्षका सात बालिका पीडित भएका छन् । आरोपितमा १६, १७, २०, २१, २५, ३५ वर्ष उमेरका छन् । आरोपितमध्ये एक जनालाई कैद सजाय भएको छ भने एक जनाले सफाइ पाएका छन् ।  पुर्पक्षका लागि दुई जना धरौटीमा छुटेका छन् भने एक जना फरार छन् । गत वर्ष यौन दुुर्व्यवहारमा नौ घटनामा नौ देखि १७ वर्षीया १० बालिका पीडित भएकी थिइन् । बालिका अपहरणको एक मुद्दामा तीन जना फरार छन् भने अर्को एक मुद्दामा आरोपित पुर्पक्षका लागि थुनामा छन् ।

यसैगरी बालक हत्याको र अपहरणको २/२ घटना अभिलेख गरेको इन्सेकले जनाएको छ । बालबालिकाहरु डर र प्रलोभनमा पर्ने तथा प्रतिवाद र प्रतिकार गर्न नसक्ने भएकाले बालअधिकार हनन्को घटना बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।
न्यायाधीश श्रेष्ठले सरोकारवाला निकायले समाजको प्रतिविम्ब बन्नु पर्ने र अपराधका कारक र समाधानका तरिका खोज्नु पर्ने बताए । रोजगारी बढाउन, नैतिक शिक्षा बृद्धि गर्न र आवश्यक परे सरकारी नीति नै परिवर्तन गरेर पनि समाजलाई परिवर्तन गर्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । अर्का न्यायाधीश हर्कबहादुर क्षेत्रीले विश्वव्यापी र अहरणीय अधिकारबाट कोही बञ्चित हुन नहुने बताउनु भयो । मानव अधिकारको संरक्षण, सम्बद्र्धनमा ठूलो भूमिका खेल्नु पर्ने आवश्यक्ता औल्याउँदै न्यायाधीश क्षेत्रीले आ–आफ्नो भूमिका प्रभावकारी बनाउन सके मात्र मानवअधिकारको रक्षा हुने बताउनु भयो । सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कमजोर सामाजिक सम्बन्ध र सद्भाव, निम्न चेतनास्तर, सामाजिक बनोट, अशिक्षा र गरिबीले पनि हिंसाका घटनामा बृद्धि भएको बताउनु भयो । अपराधिक घटनालाई राजनीतिकरण गर्ने र अपराधीलाई संरक्षण गर्ने प्रवृतिले अपराध बढने उहाँले बताउनु भयो । नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बालअधिकार हनन्को घटनामा कमी ल्याउन नागरिकमा चेतना बढाउन आवश्यक रहेको बताउनु भयो । इन्सेकका मानार्थ केन्द्रीय सदस्य बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी नायव उपरिक्षक नरेश सिंह, कारागार कार्यालय प्रमुख किशोर राम, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, जिल्ला बार एकाई सप्तरीका कोषाध्यक्ष मनु खनाल, आदिवासी जनजाती महासंघकी प्रिया सिंह थारु, अधिकारकर्मी सुशिला लोहनी, सहयोगी समाजका रामप्रसाद चौधरीले हिंसा नियन्त्रणका लागि राज्यले सक्रियता र निगरानी बढाउनु पर्र्नेमा जोड दिनुभयो ।

इन्सेकद्वारा सार्वजनिक प्रतिवेदनमा १२ जनाको हत्या घटना अभिलेखित छ । सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असईको पोष्टभित्रै हत्या गरेको आरोपमा सशस्त्र प्रहरी जवान पुर्पक्षका लागि थुनामा छन् । गैरराज्य पक्षबाट समूहले कुटेर २५, २७ र ३५ वर्षीय युवकको हत्या घटना भएको छ । ती घटनामा आरोपित १६ जना छन् । जसमा ३ जना थुनामा र एक जना बालसुधार गृहमा छन्, ३ जना घरौटीमा रिहा भएका छन्, बाँकी फरार छन् । यस्तै ६० वर्षीय बृद्धको हत्यामा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा छन् । नवजात शिशु र ५० वर्षीय पुरुषको हत्याको कारण र अभियुक्त पत्ता लाग्न सकेको छैन् । १७ वर्षीय बालकको मृत्यु घटनाको अनुसन्धान हुन सकेको छैन् । यसैगरी यो अवधिमा ४ महिलाको समेत हत्या भएको छ । पेट्रोल छर्केर भाउजुको हत्या गर्ने देवर पुर्पक्षका लागि थुनामा छन् । कुटेर पत्नीको हत्या गर्ने २ घटनाका आरोपित दुई जनामध्ये एक जनालाई ६ महिना कैद र अर्कोलाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ । साइकलले बालकलाई ठक्कर दिएको विषयमा बढेको विवाद र कुटपिटबाट छोरालाई जोगाउन आएकी ६० वर्षीया बृद्धाको गाउँलेले नै कुटपिट गर्दा मृत्यु भएको छ । आरोपित ६ जनामध्ये एक जना पुर्पक्षका लागि थुनामा छन् । यो वर्ष आत्महत्या दुरुत्साहनका दुई घटनामा १८ वर्षीया र २० वर्षीय युवा पीडित भएका छन् । आरोपित युवकका बुवा धरौटीमा रिहा भए भने युवतीका परिवारका सदस्य पुर्पक्षका लागि थुनामा छन् ।

महिला बलात्कारका सात घटनामा १८ माथि ४० वर्षसम्मका सात पीडित छन् । बलात्कार घटनामा १९ देखि ४५ वर्ष उमेरका १० जना आरोपित छन् । जसमा ६ जना फरार छन् भने एक जनाले सफाइ पाएका छन् । दुई जना पुर्पक्षका लागि थुनामा र एक जना धरौटीमा छुटेका छन् । गत वर्ष नौ घटना भएकोमा यो वर्ष महिला बलात्कार प्रयासका तीन घटना भएका छन् । जसमा २५, २८ र २९ वर्षीया महिला पीडित भइन् । यसमा २२, २७, ३० र ४० वर्ष उमेरका चार जना आरोपित रहे । आरोपितमध्ये दुई जना पुर्पक्षका लागि धरौटीमा रिहा भए । एक जना फरार छन् भने एक जनाविरुद्ध वारेण्टसहितको म्यादी पुर्जी जारी गरिएको छ । बहुविवाहको घटनामा बृद्धि भएको छ । गत वर्ष नौ घटना भएकोमा यो वर्ष १३ घटना अभिलेख भएको छ । आरोपितमध्ये ६ जना धरौटीमा छुटेका छन, ६ जना थुनामा छन्, आठ जना फरार रहेका छन् । म्यादी पुर्जी तीन जनालाई जारी भएको छ, एक दम्पतिबीच दोस्रो विहे नगर्ने सहमति भएको छ । बालविवाह र बहुविवाहसमेत भएको दुई घटनाका आरोपित दुई बालिका संरक्षकको जिम्मामा छुटेका छन् । गत वर्ष गर्भपतनको दुई घटना अभिलेख भएकोमा यो वर्ष एक घटना अभिलेख छ । २२ वर्षीया महिला पीडित भएको गर्भपतनको घटनामा आरोपित दुई दाजुभाई पुर्पक्षका लागि धरौटीमा रिहा भएका छन् । यो अवधिमा अमानवीय व्यवहारका दुई घटनामध्ये एक घटनाका पाँच जना फरार छन् भने अर्को घटनामा पाँच जनालाई ६ महिना कैद सजाय भएको छ । स्थानीय तहको निर्वाचनमा एमाले र कांग्रेसका कार्यकर्ता बीच झडप हुँदा दुबै तर्फ पाँच जना घाइते भएका छन् । दुबै पक्षबाट ज्यान मार्ने उद्योगको उजुरी दर्ता भएकोमा आठ जना हाजिर भई धरौटीमा छुटेका छन् । फरार एक जना विदेश पुगेका छन् । यो अवधिमा चार जना सञ्चारकर्मीमाथि कुटपिट, दुर्व्यवहार र धम्कीका चार घटना भएका छन् । महिला बेचविखनको एक घटनामा एक जना पुर्पक्षका लागि थुनामा छन् भने दुई जना धरौटीमा रिहा भएका छन् । अपहरण, अभद्र व्यवहारका एक/एक र घरेलु हिसाका ६ घटना अभिलेख गरिएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत गत वर्ष जतिकै ६ घटना अभिलेख गरिएको छ ।

मनोहरकुमार पोखरेल