वार्षिक समीक्षा तथा योजना बैठक सम्पन्न

काभ्रे । २०७७ पुस ३ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाको वार्षिक समीक्षा तथा योजना बैठक ०७७ पुस ३ गते धुलिखेलमा सम्पन्न भएको छ । एफएचआईको सहकार्यमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा सञ्चालन भइरहेको पारस्परिक जवाफदेहिता परियोजनाले चार वर्षमा पारेको प्रभाव र चुनौति विषयमा समीक्षा भएको हो । परियोजनाले विकास निर्माणको सवालमा नागरिक समाज र सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेको इन्सेकका कार्यकारी निर्देशक विजय गौतमले बताउनु भयो । कार्यकारी निर्देशक गौतमले इन्सेकको महत्वपूर्ण काम भनेको मानव अधिकार वर्ष पुस्तक प्रकाशन भएकोले यो वर्ष अझै सिर्जनशील र प्रभावकारी बनाउन जिल्ला प्रतिनिधिहरू क्रियाशील भएर लाग्नुपर्ने बताउनु भयो ।

गौतमले आगमी दिनमा मानव अधिकार उल्लङ्घन घटनाको तथ्याङ्क सङ्कलन र अभिलेखिकरण विश्वासनियता बनाउन सबै प्रदेशमा हेल्प डेक्स राख्ने इन्सेकको योजना बताउनु भयो । यसैगरी इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईँले परियोजना सञ्चालन भएको चार वर्षको अवधिमा सामाजिक सङ्घ संस्थामैत्री कानुन र कार्यविधि बनाउन, समाजका हरेक वर्ग तथा क्षेत्रका नागरिकलाई पारस्परिक जवाफदेही बनाउन सहजिकरण गरेको बताउनु भयो ।

इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले परियोजना मार्फत भूकम्पबाट अति प्रभावित १४ जिल्लामा सामाजिका सङ्घ संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा जनप्रतिनिधिबीचको सहकार्य र विकासका लागि खेल्नु पर्ने भूमिका र पारस्परिक जवाफदेहीकाका क्षेत्रमा सकरात्मक प्रभाव पारेको बताउनु भयो । उहाँले इन्सेकको यो अभियानबाट विकास निर्माणको सवालमा आम नागरिकलाई पारस्पारिक जवाफदेही बनाएको बताउनु भयो । कार्यक्रममा बागमती प्रदेशका ११ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थिए । कार्यक्रमका सहभागीहरूले कार्यक्रममा जिल्लामा पारेको प्रभाव र उपलब्धिका बारेमा आआफ्ना धारण राखेका थिए ।

हिरामान तामाङ