विद्यार्थीहरूलाई वैकल्पिक विधिबाट पठनपाठन गराउन माग

बाँके । २०७७ असोज २२ गते

 

कोभिडका कारण लामो समय विद्यालयहरू बन्द रहेकाले  वैकल्पिक विधिबाट  पठनपाठन गराउन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र वैजनाथ गाउँपालिका स्तरिय मानवअधिकार समुहको आयोजनामा असोज २० गते भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी अन्तरक्रियामा  सेवाग्राहीहरू  उक्त माग गरेका हुन । कार्यक्रममा  इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले विश्व महामारीको रुपमा रहेको कोभिड सङ्क्रमणले   शिक्षा, स्वास्थ्य र खाद्यको योजनालाई कसरी अगाडि बढाउने भन्ने कुरामा पनि अन्योलता थपिएको बताउदै स्थानीय तहमा भएका समस्या  प्राथामिकतामा राखेर अगाडि बढ्नु पर्ने बताउनु भयो । बैजनाथ गाउँपालिका उपाध्यक्ष सारदा रेग्मी विकले आफ्नो कार्यक्षेत्रमा बस्ने नागरिकले  भोग्नु परेका समस्या  समाधान गर्दै जाने प्रतिबद्धता जनाउनु भयो । उहाँले शिक्षा ऐन निर्माण नभएकोले शिक्षा क्षेत्र अन्योलमा परेको बताउदै प्रदेश सरकारले शिक्षा ऐन निर्माण गरे शैक्षिक क्षेत्रमा सुधार आउने बताउनु भयो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत दानबहादुर ऐरीले कोभिडका कारण शिक्षा क्षेत्रमा समस्या रहेको बताउँदै  शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धि भएका कमजोरीमा सुधार ल्याइने बताउनु भयो । वैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले अहिलेको अवस्थामा शिक्षक सक्रिय र विद्याथीहरू विद्यार्थिहरू निष्क्रिय बन्दै गएकोले गुणस्तरमा कमि आएको बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले गाउँपालिकाको लागि  तीन ओटा एम्बुलेन्स खरिद गर्न लागेको बताउनु भयो । कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले  गाउँपालिकामा प्रयाप्त मात्रामा बिउ मलहरू रहेको र कृषकहरूलाई  पनि वितरण गरिसकेको बताउनु भयो ।

स्मृति देवकोटा