विनयी त्रिवेणी गाउँपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न
नवलपरासी (सुस्ता पूर्व)। २०७८ भदौ २९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा समस्या पहिचान एवम् कार्ययोजना निर्माण कार्यक्रम भदौ २९ गते सम्पन्न भएको छ । इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूहका सदस्यहरूको सहभागितामा भएको कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकामा शिक्षाको अधिकारका सवालमा सामुदायिक विद्यालयले विभिन्न नाममा विद्यार्थीबाट शुल्क उठाएको, विद्यालयको भौतिक पूर्वधार अपाङ्गता तथा छात्रामैत्री नरहेको, विद्यार्थी सङ्ख्या अनुसार शौचालयको व्यवस्थापन तथा सेनेटरी प्याड डिस्पोज स्थान नभएको, विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या अत्याधिक रहेको, विद्यालयको सवारीले मापदण्ड विपरित क्षमताभन्दा बढी विद्यार्थी बसमा राख्ने लगायतको समस्याहरू पहिचान गरेको थियो ।
ती समस्याहरूको समाधानको लागि नगर शिक्षा शाखा, नगरपालिकाका जनप्रतिनिधि, शिक्षा समन्वय इकाई, सम्बन्धित विद्यालय व्यवस्थापन समिति लगायत सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गर्न सकिने मानव अधिकार समूह सदस्यले छलफलमा बताएका थिए । त्यस्तै स्वास्थ्यको अधिकारका सवालमा नेपाल सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको औषधिहरू स्वास्थ्य संस्थामा नपाइने तथा सो सम्बन्धी सूची टाँस स्वास्थ्य संस्थामा नरहेको, कोभिड–१९ विरूद्धको खोप सबै नागरिकको पहुँचमा नपुगेको, स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको, विनयी त्रिवेणीको विभिन्न स्थानमा शुद्ध पिउने पानीको अभाव भएको लगायतका समस्या पहिचान भएको थिए ।
यस विषयमा नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयसँग समन्वयको आवश्यकता रहेको बारे छलफल गरिएको थियो । खाद्यको अधिकारका सवालमा सुरक्षित र पोषण युक्त खानेकुराको प्रत्याभूति हुन नसकेको, बजारमा अनुगमन नहुँदा बजारमा म्याद गुज्रिएको सामाग्री बिक्री वितरण भइरहेको, विभिन्न विपद्को कारण खाद्य उत्पादनमा कमी आउदा खाद्यन्नको अभाव भएको जस्ता समस्या रहेको कार्यक्रममा पहिचान गरिएको थियो । सो समस्याको समाधान गर्न नगरपालिका स्तरीय अनुगमन समिति, उपभोक्ता हकहित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलाई सरोकारवाला निकाय पहिचान गरिएको छ ।
आवासको अधिकारका सवालमा जनता आवास कार्यक्रमबाट सबै नागरिकलाई लाभ हुन नसकेको, आफ्नै नाममा भूमि नहुँदा समस्या भएको लगायतका समस्या पहिचान गरिएको थियो । कार्यक्रममा बोल्दै इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले पहिचान भएका समस्याहरूलाई विनयी त्रिवेणी गाउँपालिका सहित सम्बन्धित सरोकारवालाहरूसँग समाधानको लागि पहल गरिने बताउदै यसमा मानव अधिकार समूहको ठूलो भूमिका रहने बताउनुभयो । कार्यक्रममा मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाका सदस्य, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । समूहका अध्यक्ष धर्म बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सहजकर्ता गङ्गा विश्वकर्माले गर्नुभएको थियो ।
तिर्थराज डुम्रे