विनयी त्रिवेणी गाउँपालिकामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०७८ माघ २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुर र मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको आयोजनामा बाल विवाह विरुद्ध सचेतना अभियान कार्यक्रम माघ २५ गते गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकामा बाल विवाहको कारण शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा बाल विवाहविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको मानव अधिकार समूह विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्म बहादुर जिसीले बताउनुभयो । मानव अधिकार समूह विनयी त्रिवेणीले गाउँपालिकामा समस्याको रूपमा देखिएको बाल विवाह अन्त्यको लागि सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेसगै विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ३, ४ र ५ का सरोकारवाला, विद्यार्थी र शिक्षक सहित कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीहरूले बाल विवाह अन्त्यको लागि स्थानीय समुदाय र विद्यालय केन्द्रीत अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गोपाल अधिकारीले विद्यालय उमेर समूहका बालबालिकाहरूले बाल विवाह गरिरहेको भन्दै विद्यालय शिक्षाका पाठ्यक्रमहरूमा बाल विवाहको कारण हुने असर र यसको कानुनी कारवाहीका बारेमा समावेश हुनुपर्ने बताउनुभयो । स्थानीय सरकारले बनाउने पाठ्यक्रममा बाल विवाह सहित विभिन्न कानुन र त्यसको उल्लङ्घन गर्दा हुने सजाएको बारेमा समावेश गराउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सबै सहभागीहरूलाई आफू सहभागी हुने सबै किसिमका कार्यक्रमहरूका थोरै भएपनि बाल विवाहको बारेमा जानकारी राख्न अनुरोध गर्दै अबको दिनमा आफूले सबै कार्यक्रमहरूमा बाल विवाहसम्बन्धी विषयलाई समेत समेट्ने बताउनुभयो ।

कार्यक्रममा विनयी त्रिवेणी गाउँ कार्यपालिका सदस्य बिष्णु जि.सी.ले विभिन्न कारणहरूले बाल विवाह बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न सबै सरोकारवालाहरूले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । विद्यालयहरूका बालबालिकाहरूको बाल विवाह गर्ने सङ्ख्या अत्याधिक रहेको भन्दै उहाँले विद्यालय स्तरमा अन्तरक्रिया र छलफलहरू सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय मेलमिलापकर्ता पूर्ण बहादुर डिस्वाले परिवारले गरिदिने विवाह भन्दा अहिले आफै गर्ने बाल विवाहहरू अत्याधिक रहेको भन्दै स्थानीय टोल र समूहमा पुगेर उनीहरूलाई सचेत बनाउदै लैजानुपर्ने बताउनुभयो । बाल विवाह अन्त्य गर्न लक्षित उमेर समूहका बालबालिका सहितको कार्यक्रम र उनीहरूलाई नै ज्ञानको अभिवृद्धिमा जोड दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

स्थानीय दिपेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक राजु जि.सी.ले विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरूको विवाह भइसकेको अवस्था रहेको भन्दै उहाँले पहिले उनीहरूमा देखिएको समस्याको पहिचान र सोही माध्यमबाट अन्य विद्यार्थीसम्म ज्ञान प्रवाह गर्दा उपयुक्त हुन सक्ने बताउनुभयो । उहाँले स्थानीय स्तरमा हुने बाल विवाहमा सहभागी नहुने, बाल क्लव तथा चेतना समूह मार्फत परिवार तथा बालबालिकालाई बाल विवाह नगर्न अभिप्रेरित गर्न आवश्यक रहेको बताउनुभयो । शिशु कल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक शारदा कोइरालाले बाल विवाह गर्ने र गराउनेहरूलाई कानुनी रूपमा कारवाही हुने भएपनि सोको कार्यान्वयन हुन नसकेको बताउनुभयो । कानुन सम्बन्धी ज्ञानको कमी र त्यसको कार्यान्वयनको कारण पनि बाल विवाह अन्त्य हुन नसकेको उहाँले बताउनुभयो । पहिलो चरणमा कानुनी ज्ञान अभिबृद्धि र त्यसपछि कार्यान्वयनमा जन उपयुक्त हुने बताउनुभयो । कार्यक्रममा दिपेन्द्र माध्यमिक विद्यालयमा रहेको बाल क्लबका अध्यक्ष एलिसा गैरेले बाल विवाहको अवस्था निकै धेरै रहेको बताउनुभयो ।

आफ्नो कक्षा र विद्यालयमा पढ्ने बालबालिकाहरूको विवाह गर्नेहरूको सङ्ख्या धेरै रहेको भन्दै उहाँले बाल विवाहको कारण बालश्रम समेत बढेको उदाहरण दिनुभयो । बाल विवाहको कारण बाल स्वास्थ्य सहित विभिन्न क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै उहाँले विद्यालयहरूमा साप्ताहिक रूपमा बाल विवाहविरुद्धको सचेतीकरण आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा इन्सेक नवलपुरका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले बाल विवाहको कारण र यसको न्यूनिकरणमा सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको भूमिका के हुन सक्छ भन्ने विषयमा छलफल सञ्चालन गर्नुभएको थियो । उहाँले अहिले इन्सेकले सञ्चालन गरेको यो अभियानलाई विनयी त्रिवेणी गाउँपालिका भर सञ्चालन गर्ने समेत जानकारी दिनुभयो । मानव अधिकार समुहका अध्यक्ष धर्म बहादुर जि.सीले बाल विवाह सहित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा इन्सेकसंगै मानव अधिकार समूहले सहकार्य कार्यहरू गर्दै आएको बताउनुभयो ।

 

तिर्थराज डुम्रे