विपन्न परिवारको खाद्य व्यवस्थापन र बिरामीको उपचारमा ध्यान दिन मानवअधिकार समूहको ध्यानाकर्षण
तनहुँ । २०७८ जेठ २७ गते
मानवअधिकार समूह बन्दिपुर गाउँपालिकाले कोभिडको जोखिमको कारण रोजगार गुमाएका र विपन्न वर्गका नागरिकको खाद्य व्यवस्थापन र अन्य दिर्घरोगी तथा जेष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिन गाउँपालिकाको ध्यानाकर्षण गराएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बन्दिपुर गाउँपालिकामा गठन गरिएको मानवअधिकार समूहले जेठ २७ गते गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाइ कोभिडको जोखिमका कारण भएको निषेध आदेशले गर्दा धेरै जनाले रोजगारी गुमाएको हुँदा त्यस्ता नागरिक र विपन्न वर्गका नागरिकको खाद्य व्यवस्थापन तथा सार्वजानिक सवारीका साधन सञ्चालन नहुँदा उपचारको सेवाबाट वन्चित हुनुपरेका जेष्ठ नागरिक तथा दिर्घरोगीहरुको उपचारमा ध्यान दिन अनुरोध गरेको हो ।
मानवअधिकार समूह बन्दिपुर गाउँपालिकाका संयोजक शान्ती कुँवरले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षण पत्रमा कोभिडको असरले बन्दिपुर गाउँपालिका पनि प्रभावित बनेको र कोभिडको दोश्रो लहर सुरु भएपछि बन्दिपुर गाउँपालिका मात्रै १ सय ३५ जना सङ्क्रमित भएकोमा हाल ७१ जना सक्रिय सङ्क्रमित रहेको र दुई जनाको मृत्यु भएको उल्लेख गरिएको छ । कोभिड सङ्क्रमितको उपचारको लागि बन्दिपुर गाउँपालिकाले आइसोलेशन सेण्टर र कोभिड अस्पतालको स्थापना गरेको कार्य सराहनीय रहेको साथै कोभिड अस्पतालमा अक्सिजनक र एम्बुलेन्सको व्यवस्थापन पनि राम्रो भएको उल्लेख गरिएको छ ।
कोभिड अस्पतालको व्यस्थापनसँगै होम आइसोलेशनमा बस्नेहरुको बसाइ व्यवस्थापनको अनुगमन तथा उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिइरहनु पर्ने तथा उपचारमा लाग्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै ध्यानाकर्षण पत्रमा होम आइसोलेशनमा बस्ने सङ्क्रमितहरुको कारण कतिपय परिवारका सदस्यहरु पनि सङ्क्रमित भएको घटनाहरु सार्वजानिक भएको जनाइएको छ । सामुदायिक आइसोलेशन सेण्टर खाली हुनु र होम आइसोलेशनमा बस्न नगरपालिकाले नै प्रश्रय दिने गरेको कारण सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको मानवअधिकार समूहले जनाएको छ । होम आइसोलेशनमा बस्नेहरुको बसाई व्यवस्थापनको बारेमा अनुगमन गरी परिवारका अन्य सदस्यहरु सङ्क्रमित नुहने वातावरण निर्माणको लागि समूहले गाउँपालिकालाई अनुरोध गरेको छ ।
इमेल मार्फत पठाइएको सो ध्यानाकर्षण पत्रमा बन्दिपुर मुलुककै प्रमुख पर्यटकीय गन्तव्य पनि भएको हुँदा हाल जारी रहेको निषेध आदेश खुकुलो भएपछि पर्यटकहरुको आवागमन हुने निश्चित भएको र यस्तो अवस्थामा आन्तरिक पर्यटकहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्डको अनिवार्य पालना गराउन अहिलेदेखि नै योजना बनाउन अनुरोध गरिएको छ । साथै पर्यटकीय गतिबिधि पूर्ण ठप्प हुँदा बन्दिपुरमा सञ्चालित होमस्टे बन्द हुने अवस्था भएको कारण गाउँपालिकाले आगामी वर्षको योजनामा होमस्टेको प्रवद्र्धनकोलागि राहतका कार्यक्रम ल्याउन पनि अनुरोध गरिएको छ ।
कोभिडको जोखिमको कारण लगाइएको निषेध आदेशको कारण शिक्षा, स्वास्थ्य र खाद्य लगायतका सवालमा सरोेकारवालाको ध्यान पुग्न नसकेको भन्दै ध्यानाकर्षण पत्रमा विपन्न परिवारको खाद्य व्यवस्थापन, दिर्घरोगी तथा जेष्ठ नागरिकको उपचारको व्यवस्था, बन्द रहेका शैक्षिक संस्थामा नतिजा प्रकाशन गरी नयाँ शैक्षिक सत्रको सुरुवातको तयारी तथा आगामी वर्षको योजना निर्माणको क्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई उचित सम्बोधन गर्ने गरी योजना निर्माण गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले ध्यानाकर्षण पत्रमा उल्लेखित विषय सम्बोधन गरिने बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई