विश्वव्यापी आवधिक समीक्षाको पूर्व सत्र सम्पन्न
काठमाडौँ । २०७७ कात्तिक १ गते
विश्वव्यापी आवधिक समीक्षा (युपीआर) को पुर्व सत्र काठमाडौँमा असोज ३० गते सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषदमा सन् २०२१ जनवरी २० मा नेपालको विगत साढे चार वर्षको अवधिको मानव अधिकार अवस्थाबारे छलफल हुँदैछ । मानव अधिकार परिषदमा छलफल गरिने मानव अधिकारका सवालमा नेपाली गैरसरकारी संस्थाहरूले २०२० जुलाई ६ मा मानव अधिकार उच्चायुक्तको कार्यालयमार्फत प्रतिवेदन बुझाइसकेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग र यूपीआर इन्फो-जेनेभाद्वार संयुक्त रूपमा आयोजित युपीआरको पुर्व सत्र कार्यक्रममा अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गरिएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विगतको तुलनामा समाजिक समस्या बढ्दै आएको बताउनुभयो । उहाँले समाजमा रहेको विभेद अन्त्यका लागि सरोकारवाला निकायहरूको भूमिका थप प्रभावकारी हुन आवश्यक रहेको धारणा राख्नु भएको छ ।
विश्वव्यापी आवधिक समीक्षामा नागरिक संस्थाका तर्फबाट प्रस्तुत प्रतिवेदनमा समेटिएका विषयमा कुटनीतिक नियोगका प्रतिनिधिसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधहरूसँग छलफल गरिएको छ । कार्यक्रममा क्षेत्रगत रूपमा मानव अधिकारका विषयवस्तु समेटिएका १० ओटा भिडियो क्लिप्स प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएको भिडियो क्लिप्समा सङ्क्रमणकालीन न्याय, महिला अधिकार, बाल अधिकार, जनजातिका हक र अधिकार, दण्डहीनता, यौनिक तथा अल्पसङ्ख्यकका अधिकार, दलित समुदायका हक र अधिकारलगायतका विषयवस्तु समेटिएको छ ।