वैध-प्रकाश मानव अधिकार पुरस्कारबाट चौधरी सम्मानित

सप्तरी । २०८१ साउन १८ गते

बैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट सप्तरीको रुपनी गाउँपालिका-६ तेरहौताका ५५ वर्षीय मानव अधिकार रक्षक दिलिप कुमार चौधरी सम्मानित हुनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव प्रकाश काफ्लेको ३२औं स्मृति दिवसकाे अवसरमा साउन १८ गते आयोजित नवौं बैध-प्रकाश मानवअधिकार पुरस्कार २०८१ बाट चौधरीलाई सम्मान गरिएको हो । चौधरीलाई नगद ७ हजार १ सय १ रुपियाँसहित सम्मानपत्र दिनुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सम्मानपत्र प्रदान गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलासका प्रमुख न्यायाधीश बामदेव ज्ञवालीले मेलमिलापमैत्री समाज निर्माणका लागि संगठित आवाज र संस्थाको जरुरी रहेको बताउनु भयो । समाज सचेत र जागरुक नभएसम्म जाली फटाहाहरूको रजाई चल्ने भएकोले समाजका प्रतिष्ठित व्यक्तिहरूलाई मेलमिलापकर्तामा सुसूचित हुन, आवाज उठाउन र संगठित हुन उहाँले आग्रह गर्नुभयो ।

 

मानव अधिकारको क्षेत्र कमजोर हुँदा जाली, फटाहाहरूले फाईदा उठाउने भएकोले सचेतना र जागरणको अवश्यक्ता रहेको न्यायाधीश ज्ञवालीले औल्याउनु भयो । ज्ञवालीले भन्नुभयो- “समाजमा वर्ग बीच विभेदको व्यापकता छ, एउटै वर्ग, जाती, समुदाय, लिङ्गबीच पनि विभेद छ, कुसंस्कार छ, त्यसलाई न्यूनीकरण गर्न जागरणको जरुरी छ ।”

राजनीतिक अधिकार सम्बोधन भएपनि सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारको अवस्था रुग्ण रहेकोले फरक क्षमता भएकाहरूको पहिचान गर्नुपर्ने, पहिचान गर्न नसकिएका योग्यहरूको खोजी गर्नुपर्ने उहाँले बताउनु भयो ।

न्यायाधीश ज्ञवालीले मानव अधिकार सम्मानपूर्ण जीवनको आयाम भएकोले सबैको सम्मान रहनु पर्ने र जीवन मर्यादित हुनुपर्ने बताउनु भयो । “सभ्य, शान्तिपूर्ण र सम्मानपूर्ण जीवन नै मानव जीवनको बाँच्ने आधार हो । बाँचेर बाँचिएको जस्तो हुँदैन सम्मानपूर्वक बाँच्नु पाउनु जीवनको अर्थ हुन्छ ।” न्यायाधीश ज्ञवालीले भन्नुभयो- “क्षमता, प्रतिभा र भूमिकाले सिंगो राष्ट्रको पहिचान दिनेहरू अजम्बरी हुने भएकोले शरिर त्यागे पनि मानव कल्याणका लागि सोंच र विचार राख्ने प्रकाश काफ्लेलाई सम्झनु गौरवको कुरा हो ।”

पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वर्तमान समयमा मानव अधिकारको अवस्था कम्जोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । मुलकमा गरिवी, असमानता, विभेद, अन्याय र शोषण कायम रहुञ्जेल मानवअधिकार सबल हुन नसक्ने बताउँदै आयुक्त डा. यादवले भ्रष्टाचारले व्यापकता पाएको बताउनु भयो ।

सोही अवसरमा उर्मिला देवी झा पाँचौ मैथिली गीत गायन पुरस्कारबाट लोकगायिका सुनिता साह सम्मानित हुनु भएको छ । मैथिली गीत गायनमा १८ वर्षदेखि संलग्न राजविराजकी साहलाई नगद २ हजार ५ सय रुपियासहित प्रमाणपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

उक्त पुरस्कार पनि इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी झाले आफ्ना भाई बुहारी उर्मिला देवी झाको स्मृतिमा स्थापना गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण सहनी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवान, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, मैथिली महिला परिषद् सप्तरीकी अध्यक्ष मालती चौधरी, ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष रामनरेश सिंहलगायतकाले मन्तव्य व्यक्त गर्नुभयो ।

पुरस्कार कोषका संस्थापक अध्यक्ष बैधनाथ झाको अध्यक्षता तथा सचिव मनोहर कुमार पोखरेलद्वारा सञ्चालित कार्यक्रममा स्वागत कोषका सदस्य एवम् नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले गर्नुभयो ।

कार्यक्रममा बरख गणका गणपति रमेश पाण्डे, एसपी गजु सिध्दी बज्राचार्य, राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइरालालगायत विभिन्न संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

यो पुरस्कारबाट २०७३ सालमा सुरुङ्गा नगरपालिका-४ मधुपट्टी कनकपुरका बलदेव राम, २०७४ सालमा छिन्नमस्ता गाउँपालिका-२ का युक्तिलाल मरिक, २०७५ सालमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका-३ हरीहरपुर मट्टिगढाका असर्फी सदा, २०७६ सालमा राजविराज नगरपालिका-६ का मनोहर कुमार पोखरेल, २०७७ सालमा खडक नगरपालिका-८ की रुबी कर्ण, २०७८ सालमा राजविराज नगरपालिका-७ की अनीता देवकोटा, २०७९ सालमा राजविराज नगरपालिका-५ का हितनारायण लाल दास र २०८० सालमा राजविराज नगरपालिका-७ का थानसिंह भन्साली सम्मानित हुनु भएको थियो ।

कार्यक्रमको आरम्भमा सहभागीहरूले स्वर्गीय काफ्लेको तस्वीरमा अबिर, माला र पुष्प गुच्छा अर्पण गरेर एक मिनेट मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

नुवाकोटको घोप्टेभीरमा २०४९ साउन १६ गते थाई विमान दुर्घटनामा प्रकाश काफ्लेको निधन भएको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा २१औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित वैद्यनाथ झाले प्राप्त गर्नुभएको ५० हजार रुपियाँ पुरस्कार राशीबाट स्थापना गर्नुभएको वैद्य-प्रकाश मानव अधिकार पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानवअधिकार तथा नागारिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ । हाल उक्त कोषको राशी १ लाख ५१ हजार रुपियाँ पुगेको छ ।

मनोहरकुमार पोखरेल