व्यक्तिगत घटना दर्ता गर्न महिलालाई इन्सेकको आर्थिक सहयोग

म्याग्दी । २०७९ चैत ३० गते

धौलागिरी गाउँपालिका–१ गुर्जा घर भई हाल बेनी बस्ने ३४ वर्षीया महिलाको नागरिकता, विवाह दर्ता र तीन सन्तानको जन्मदर्ता गर्न गाउँपालिकाको कार्यालयसम्म पुग्न इन्सेकले आर्थिक सहयोग गरेको छ । व्यक्तिगत विवरण दर्ता गर्न गुर्जामा रहेका गाउँपालिकाको कार्यालयसम्म पुग्न आर्थिक अभाव भएको भन्दै उहाँले इन्सेक म्याग्दीमा निवेदन दिनु भएको थियो । जिल्ला प्रशासन कार्यालय, म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल तथा धौलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले महिलालाई इन्सेक मार्फत प्राप्त भएको ५ हजार रुपियाँ ०७९ चैत २९ गते हस्तान्तरण गर्नु भयो । प्रजिअ पौडेलले पीडित महिलाको घटना दर्ताका लागि आवश्यक पहल गर्न वडा अध्यक्षलाई आग्रह गर्नुभयो भने गुर्जा गाउँपालिकाका वडाअध्यक्ष छन्त्यालले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

अमृत प्रसाद पौडेल