शम्भुनाथ नगरपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

सप्तरी । २०७९ पुस २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिकामा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम पुस १९ गते सम्पन्न भएको छ ।
कार्यक्रमको समापन गर्नुहुँदै नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता कलवारले समाजमा रहेका कुरीतिहरू सबै मिलेर अन्त्य गर्नुपर्ने बताउनु भयो । बोक्सी, दाइजो, बाल विवाहलगायत सामाजिक कुरीति र कालाबजारीलाई अन्त्य गर्न प्रयास जारी राखेकोे बताउनु भएका नगर प्रमुख गुप्ताले मिलेर अगाडि बढेमा चाँडै गन्तव्यमा पुगिने भन्नु भयो । उहाँले शिक्षाका लागि बालबालिकाका परिवारका सदस्यलाई अभिप्रेरित गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
शम्भुनाथ नपा–१० का वडा अध्यक्ष धर्मेन्द्रकुमार मण्डलले मानव अधिकारको रक्षाको लागि महिलाहरूको भूमिका महत्वपूर्ण हुने भन्नुहुँदै सबै सरोकारवालाहरू एकजुट हुनुपर्ने बताउनुभयो । नगरपालिकाका कार्यपालिका सदस्य शिवशंकर रामले निरन्तरको प्रयासले मात्र सामाजिक कुरीति अन्त्य गरी आर्थिक, सामाजिक अधिकार सम्बोधन गर्न सकिने बताउनु भयो । समुहकी देवमाया भट्टराई विश्वकर्माले महिलाको विकास, सशक्तिकरणका लागि स्थानीय तहले महिलासम्बन्धी विशेष नीति ल्याउनु पर्ने र सो अनुरूप बजेट व्यवस्था गर्नुपर्ने बताउन भयो । तालिममा मधेस प्रदेश संयोजक राजु पासवानले इन्सेक परिचय, मानव अधिकारको विकास अवधारणा, समाजमा भएको हानिकारक मान्यता विषयमा प्रशिक्षण दिनु भयो । यसैगरी इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र नगरपालिकाको भूमिकाका बारेमा सहजिकरण गर्नु भयो । कार्यक्रमका फोकल पर्सन बरुण बस्यालले मानव अधिकार समूहको काम, कर्तव्य र अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धको अधिकारका विषयमा प्रशिक्षण दिनु भयो । सहजकर्ता विश्वेन्द्र पासवानद्वारा सञ्चालित दुई दिने तालिममा उपप्रमुख अनीता कुमारी चौधरी, वडा अध्यक्षहरू, विभिन्न शाखा प्रमुखहरू, मानव अधिकार समुहका पदाधिकारीहरूसहित ५० जनाको सहभागिता रहेको थियो ।

मनोहरकुमार पोखरेल