शिक्षाका सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
सप्तरी । २०७७ पुस २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २७ गते विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेकद्वारा गठित बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार निगरानी समूहको सहकार्यमा शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरूले एक अर्कालाई दोष देखाउनु भन्दा पनि शिक्षासँग सरोकार राख्नेहरू सबै ऐक्यबद्ध भएर कार्य गर्न सहमत भएका छन् । उनीहरू विद्यालयमा निगरानी राख्न, नियमित रुपमा अन्तरक्रिया गरी समास्या समाधानको प्रयत्न गर्न, पालना गर्नुपर्ने नियम बनाउन, अनुशासन कायम राख्न र प्रभावकारी पढाइका लागि प्रयत्नशील रहन सहमत भएका हुन् । सहभागीहरूले कोभिड–१९ का कारण क्वारेण्टाइन राखिएको विद्यालयमा भौतिक सम्पती क्षति भएकाले स्थानीय सरकारको ध्यान जानुपर्ने धारणा राखे । शिक्षा इकाइ प्रमुख रामेन्द्र यादवले क्वारेण्टाइन राखिएका गाउँपालिकाका पाँच विद्यालयमध्ये दुई विद्यालयका भौतिक साधनहरूमा बढी क्षति पुगेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य उमेशकुमार मण्डलले क्वारेण्टाइन राखिएकाले क्षति भएको भौतिक सामग्री र ट्युववेल उपलब्ध गराउने प्रतिबद्धता गाउँपालिकाले पुरा नगरेको आरोप लगाउनु भयो । वडा सदस्य रामकुमार रायले प्रधानाध्यापकले नलगेका कारण ट्युववेल गाउँपालिकामा थन्किएको बताउँदै विद्यालय सञ्चालनमा आएपछि ३५ कार्टुन सेनेटेरी प्याड र मास्क विद्यालयलाई उपलब्ध गराएको जानकारी दिनु भयो । उहाँले विद्यार्थीहरूलाई आकर्षित गर्न र किशोरीमैत्री कोठा तयार गर्न लाग्ने खर्च गाउँपालिकाले छुट्याएकोले योजनाका साथ गाउँपालिकामा पेश गर्न विद्यालयसँग आग्रह गर्नु भयो । विद्यार्थीहरूले शिक्षकदेखि विद्यार्थीहरूसम्म ढिलो आउने गरेको, विद्यार्थीहरू पोशाक र मास्क नलगाएर आउने गरेको, सेनेटेरी प्याड प्रयोग गर्ने चेन्जिङ रुमको व्यवस्था नभएको, शौचालय फोहोर रहने गरेको, ट्युववेलको अभाव रहेको, नेपाली भाषाको प्रयोग नहुने गरेको जस्ता समस्याबारे जानकारी गराएका थिए । विद्यार्थीहरू गणेश मण्डल, धर्मेन्द्र साह, मुकेशकुमार मण्डल, भरतकुमार साह र अम्बिका मण्डलले समस्याबारे जानकारी गराउँदै शैक्षिक क्षेत्रका समस्या समाधानका लागि जनप्रतिनिधि, शिक्षक र विद्यालय व्यवस्थापन समितिले चासो दिनुपर्ने माग गरे ।
जनता माविका शिक्षक महेन्द्रप्रसाद मण्डलले व्यवस्थापनमा कमजोरी रहेको स्वीकार्दै विद्यार्थीहरूले गृहकार्य नगर्ने र नियमित विद्यालय नआउनाले समान ढङ्गले सिकाउन समस्या परेको बताउनु भयो । अभिभावक योगेन्द्रप्रसाद मण्डलले शिक्षित अभिभावकहरूले निजी विद्यालय रोज्ने र कमजोर आर्थिक अवस्था भएकाहरूले सामुदायिक विद्यालयमा पढाउनु पर्ने बाध्यताले अभिभावकहरू विद्यालयको निगरानी गर्न असमर्थ रहेको बताउनु भयो । कोभिड–१९ का कारणले लथालिङ्ग बनेको विद्यालयको अवस्थामा क्रमिक सुधार आइरहेको बताउँदै सहायक प्रधानाध्यापक जगदीशप्रसाद यादवले विस्तारै व्यवस्थित गरिँदै लैजाने विश्वास दिलाउनु भयो । राजविराज नगरस्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुवर साह तथा विष्णपुर गाउँस्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले विद्यालयको अवस्था सुधार गर्न शिक्षासँग सरोकार राख्नेहरू जिम्मेवार बन्नु पर्ने धारणा राखेका थिए ।
मनोहरकुमार पोखरेल