शिक्षाको अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न
रामेछाप । २०७८ कात्तिक १३ गते
खाँडादेवी गाउँपालिकामा शिक्षाको अधिकारका विषयमा कात्तिक १२ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यार्थी तथा अभिभावकले शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उनीहरूले विद्यालय पोशाक शिक्षक विद्यार्थी दुवैमा अनिवार्य तथा नियमित गर्नुपर्ने, विद्यालयको सरसफाई, खानेपानी, शैक्षिक सामाग्री र उपकरण व्यवस्थापन गर्नुपर्ने, खेल सामग्रीको व्यवस्थापन, विद्यार्थीको स्वास्थ्यमा ध्यान दिनु पर्ने माग गरेका छन् । वुद्धभवानी माविका प्रधानाध्यापक रामचन्द्र खत्रीले विद्यार्थी र अभिभावकले उठाएको सवालमा विद्यालय गम्भीर रहेको बताउनुभयो । उहाँले अहिले विद्यालय पुनर्निर्माणको चरणमा रहेकाले केही समस्या भएको बताउँदै उठाएका मागलाई क्रमश सम्बोधन गर्ने बताउनुभयो ।
नवराज घिमिरे