शिक्षाको अधिकारबारे अन्तरक्रिया सम्पन्न

सप्तरी । २०७७ पुस २७ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २६ गते राजविराजमा शिक्षाको अधिकारबारे अन्तरक्रिया सम्पन्न गरिएको छ । इन्सेकद्वारा राजविराजमा गठित नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा शिक्षक, अभिभावक र विद्यार्थीहरूबिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयका सहप्रधानाध्यापक मोहन मिश्रले विद्यार्थीको चाप बढ्दै गएको र अनुशासन कमजोर हुँदै गएकाले विद्यालयमा शैक्षिक वातावरण सहज बनाउन अभिभावक, शिक्षक र विद्यार्थीका साथै सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा शिक्षिका निता यादवले स्वास्थ्य सुरक्षा अपनाउँदै बेञ्चमा दुई जना विद्यार्थी राखेर पढाउन सुरु गरिएकोमा विद्यार्थी सङ्ख्या बढ्दै गएपछि पाँच जनासम्म राखेर पढाउनु पर्ने अवस्था आएको बताउनु भयो ।

अभिभावक वशिष्ठनारायण झाले सरकारले महत्व र सुविधा दिएपछि सामुदायिक विद्यालयतर्फ आर्कषण बढ्दै गएको तर शिक्षा समन्वय इकाई र स्थानीय तहको ध्यान पुग्न नसकेको आरोप लगाउनु भयो । विद्यार्थी पुनम भगतले पुरै घण्टी कक्षा हुन नसकेकोले परीक्षाको तयारीमा अवरोध भएको र प्रयोगात्मक कक्षा नहुने गरेको बताउनु भयो । विद्यार्थी सङ्गीता यादवले सरसफाई कर्मचारी भएपनि शौचालय फोहोर रहने गरेको, सबै विद्यार्थीहरूको गृहकार्य परीक्षण नहुने गरेको आरोप लगाउनु भयो । शिक्षिका सुमित्रा दासले अभिभावकलाई समय–समयमा विद्यालय आएर अनुगमन गर्न आग्रह गर्नु भयो भने शिक्षिका राशोदेवी साहले स्टाफ नर्स नियुक्त भएपनि ज्वरो नाप्ने थर्मामिटर, साबुनदेखि स्वास्थ्य सामग्रीको व्यवस्था हुन नसकेको बताउनु भयो ।

अभिभावक जितेन्द्र झाले कोभिड–१९ को जोखिमप्रति विद्यालय सतर्क नदेखिएको आरोप लगाउनु भयो । अभिभावकहरूले विद्यार्थीहरूसँग मासिक, त्रैमासिक परीक्षा लिई मूल्याङ्कन प्रणाली अपनाउन सके विद्यार्थी र अभिभावक सचेत हुने उहाँको सुझाव छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले अधिकारसँगै जिम्मेवारी निर्वाहप्रति सबै जना गम्भीर बन्नु पर्ने बताउँदै शिक्षक, अभिभावक र विद्यार्थीले पालना गर्नुपर्ने नियम बनाउन र समय–समयमा अन्तरक्रिया गर्न सुझाव दिनु भयो । मानव अधिकार निगरानी समूहका संयोजक रघुबर साहले इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारको विषयमा विभिन्न कामहरू गर्दै आएको जानकारी दिनु भयो । साहले सरोकारवालाहरूबीच समस्याहरू केलाउन र समाधानको उपाय खोज्न अन्तरक्रिया कार्यक्रम गरिएको बताउनु भयो ।

इन्सेक प्रदेश २ कार्यालय, जनकपुर