शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया

मकवानपुर । २०७७ पुस २३ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हेटौंडा उपमहानगरपालिकामा गठित मानव अधिकार समूहको आयोजनामा पुस २३ गते शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सकेमात्र गुणस्तरीय शिक्षा दिन सकिने बताउनुभयो । विद्यालयमा शैक्षिक वातावरण सहज बनाउन सुधार गर्नुपर्ने पक्षलाई सुधार गर्दै विद्यार्थीको अधिकार प्रदान गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले हरेक विद्यालयमा समुदायबाटै विद्यालय सुधार गुरुयोजना बनाउन आवश्यक भएको औँल्याउनुभयो । यस्तै पछिल्लो समय प्रदेश सरकारबाट सशर्त अनुदानबाट दीवा खाजा कार्यक्रममा बजेट विनियोजन भएकोले यसले पनि प्राथमिक तहका विद्यार्थीलाई विद्यालयमा आकर्षित गराउने बताउनुभयो । उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख रिमालले शिक्षकलाई निजामती कर्मचारीलाई जस्तै मासिक रूपमा तलब दिनेगरी उपमहानगरपालिकाले तयारी गरेको भए पनि केन्द्रीय नीतिका कारण कार्यान्वयन गराउन समस्या भएको बताउनुभयो । यस्तै कोभिड–१९ का कारण बालबालिका शिक्षा अधिकारबाट वञ्चित हुनुपरेको कुरामा जोड दिँदै अब आपतकालीन शिक्षा रणनीति निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा अधिवक्ता ध्रुवप्रसाद चौलागाईँले शिक्षको अधिकार संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको भए पनि व्यवहारिक रूपमा कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । संविधानमा माध्यामिक तहसम्म निशुल्क शिक्षा भने पनि विद्यालयले कुनै न कुनै शिर्षकमा शुल्क लिने गरेको उहाँले बताउनुभयो ।  यस्तै राज्यले अझै पनि बजेटको ८–१० प्रतिशत मात्रै शिक्षामा छुट्याउने प्रचलन भएकाले यस्तो अवस्थामा शिक्षको स्तर बृद्धि नहुने चौलागाईँको धारणा थियो । उहाँले राज्यको नीतिको कारण शिक्षामा सुधार हुन नसकेको भन्दै अब स्थानीय तहले प्राविधिक शिक्षालाई जोड दिने खालको नीति ल्याउनुपर्ने बताउनुभयो । आधुनिक राष्ट्रिय माविका प्राचार्य वीरवँश बैठाले अनुशासनसँगै गुणस्तरीय शिक्षामा आधुनिक मावि पहिलो रहेको बताउनुभयो ।उहाँले आधुनिक माविमा वर्षेनि तीनदेखी चार हजार विद्यार्थीले भर्नाको लागि आवेदन दिने भए पनि तीनदेखि चारसय विद्यार्थी मात्र भर्ना लिन सकिएको बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधार र सिमित शिक्षक दरबन्दीका कारण आधुनिक माविमा पढ्न चाहने सबै विद्यार्थीलाई भर्ना लिन नसकिएको उहाँको भनाई थियो ।

यस्तै पछिल्लो समय शिक्षकहरूले आफ्ना अधिकारलाई गलत रूपमा प्रयोग गर्न थालेकाले शिक्षामा गुणस्तर बढ्न नसकेको प्रधानाध्यापक बैठाले बताउनुभयो । शिक्षकहरू जागिर खाने बेलामा ग्रामिण क्षेत्रमा पनि पढाउन राजी छु भन्ने तर हाजिर भएको सुरुका दिनदेखि नै सुगममा सरुवाको लागि भनसुन गर्न थाल्ने परिपाटीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शिक्षा माथि उठ्न नसकेको उहाँको धारणा थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका नगर शिक्षा विकास समिति सदस्य इश्वरी रसाइलीले बाल मनोविज्ञानलाई आधार मानेर शिक्षा र सिकाई क्रियाकलाप गर्नुपर्ने बताउनुभयो । रसाइलीले विद्यालयमा दण्ड सजायको अन्त्य गरी बालमैत्री प्रविधिबाट सिकाई हुनुपर्नेमा जोड दिनुभयो । यस्तै विद्यार्थी, शिक्षक र अभिभावकको कर्तव्य र दायित्व बोध भएमात्र शिक्षाको अधिकार प्रत्याभुत गराउन सम्भव रहेको उहाँले बताउनुभयो । इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले इन्सेकद्वारा मानव अधिकार संरक्षण र सम्वर्धनको लागि राज्यको जवाफदेहीता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका क्षेत्रमा स्थानीय समुदायलाई सचेत बनाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो ।

उहाँले शिक्षाका क्षेत्रमा सरकारले गरेको लगानि अन्तर्गत विद्यालयले दिने छात्रवृद्धि, दिवा खाजा, पुस्तक, निशुल्क विद्यालय भर्नाका साथै गुणस्तरीय शिक्षाका लागि प्रयाप्त पूर्वाधारको सुनिश्चितताको लागि मानव अधिकार समूहले खबरदारी गर्नु पर्ने बताउनु भयो । कोभिड–१९ का कारण नौ महिनादेखि विद्यालयमा भौतिक रूपमा पठनपाठन नहुँदा वैकल्पिक शिक्षण सिकाई प्रभावकारी हुन नसकेको र यसले विद्यार्थीको शैक्षिक सत्र नै गुम्ने खतरा रहेकोले सावाधानी पूर्वक स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । अमर माविका प्रधानध्यापक मालती उप्रेतिले कोभिड–१९ का कारण बालबालिकामा मानसिक दबाब परेको बताउनु भायो । लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीमा अनुसाशनहीनता बढेको, बालविवाह, यौन दुव्र्यवहार जस्ता समस्याहरू रहेकोमा हामी सबैले बालबालिकाको सर्वोत्तम हितको लागि सोचेर निति तथा कार्यक्रमहरू तय गर्नु पर्नेमा उहाँले जोड दिनुभएको थियो । यसैगरी कार्यक्रमको अन्त्यमा कार्यक्रको अध्यक्षता गर्नु भएकी मानव अधिकार समूहको संयोजक चन्द्रावती पनेरुले इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारको विषयमा विभिन्न कामहरू गर्दै आएको र आज शिक्षाको अधिकार अन्र्तगत सरोकारवालाहरूबीच के कस्ता समस्याहरू छन् र त्यसलाई समाधान गर्ने उपाय केलाउनको लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

पुष्पराज अधिकारी