शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

कास्की । २०७७ चैत ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ स्थित ब्रम्हारूपा माध्यमिक बिद्यालयमा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगर शिक्षाको शाखा अधिकृत विश्वराज आचार्यले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले महानगरको शिक्षा नीति, शिक्षक, अभिभावकसंगै अभिभावकको काम कर्तव्य र अधिकारका बारेमा प्रस्तुतीकरण राख्दै विद्यालय प्रति व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीहरूको चासो र सक्रियताको खाँचो औल्याउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य याम बहादुर विकले विद्यालयमा आफ्ना बालबालिकाको अवस्था के कस्तो छ, शिक्षकहरूको व्यवहार कस्तो र कसरी पढाइ भइरहेको छ भन्नेबारे अभिभावकहरू चनाखो हुनुपर्ने बताउनुभयो । ‘शिक्षकहरू समयमा पढाउन आइपुग्नु हुन्छ हुँदैन, विद्यार्थीहरू समयमै विद्यालयमा पुग्नछन् पुग्दैनन्् उनीहरू माथि गरिने व्यवहार कस्तो छ भन्ने बारे अभिभावकहरूको चासो र अनुगमन पनि हुनुपर्छ’–उहाँले भन्नुभयो । उहाँले कमजोरीहरूलाई औल्याउदैं त्यसलाई सच्चाउनका लागि विद्यार्थी, अभिभावक र विद्यालयसँगै महानगरको पनि भूमिका रहुनपर्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा सहभागी अभिभावक शालिकबहादुर थापाले बालबालिकाहरू विद्यालय नजाने समस्या देखिएको भन्दै विद्यालयसम्म पुर्याउनका लागि पहल गर्न आवश्यक रहेको बताउनुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवी तिवारीले आगामी शैक्षिक सत्रमा बालकालिकालाई बिद्यालयसम्म ल्याउनका लागि टोलटोल सम्म पुग्ने गरी अभियान सञ्चालन गरिने बताउनुभयो । उहाँले प्राथमिक तहका विद्यार्थीका अभिभावकहरू विद्यालयले बोलाउँदा समेत उपस्थिती नहुने गरेको बताउँदै विद्यालय पठाउने मात्रै नभइ आफ्ना बालबालिकाको अवस्था के कस्तो छ, विद्यालय पुगे नपुगेको जानकारी लिने, पढाइमा कस्तो अवस्था छ सुधार गर्नुपर्ने विषय के छ भन्ने बारे अभिभावहरूको चासो पनि रहनुपर्ने भनाइ राख्नुभयो । कार्यक्रममा बालअधिकार चेतना समूहका सदस्यहरू, विद्यायल व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घ साथै शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सुशन घिमिरे