शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

कास्की । २०७८ भदौ २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा रूपा गाउँपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा ब्रम्हारूपा उच्च माध्यमिक विद्यालयमा शिक्षाको अधिकार बारे शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम भदौ २२ गते सम्पन्न भएको छ  स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत गरिएको उक्त कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक मधुसुदन सापकोटाले स्थानीय तहको शिक्षा नीति र कोभिडको महामारीबिच विद्यालय कसरी सञ्चालन बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बालअधिकार चेतना समूहका संरक्षक शिक्षक कृष्णप्रसाद पौडेलले अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि विद्युत र इन्टरनेटको अभाव रहेको बताउनुभयो । उहाँले शिक्षकनै प्रविधिमैत्री बन्न नसेकेको र सो बारे तालिमको आवश्यकता रहेको बताउनुभयो ।

कोभिडकै बिचमा विद्यार्थी भर्नाका लागि घर दैलो अभियान गरिएको भएपनि अन्य सामुदायिक विद्यालयहरू जस्तो प्रतिफल भने पाउन नसकेकोे उहाँले बताउनुभयो । शिक्षक अभिभावक सङ्घको विश्वराज पौडेलले शिक्षकहरूलाई प्रविधि मैत्री बनाउनुपर्ने बताउँदै आवश्यक तालिमको व्यवस्थापन गर्न जरूरी रहेको बताउनुभयो । व्यवस्थापन समिति र अभिभावक सङ्घको बैठकबाट विद्यालय सञ्चालनको लागि अनुमति पत्र आएमा विद्यालय फेरी भौतिक रूपमा सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवि तिवारीले विद्यालय सञ्चालन बारे बैठक बसि निर्णय गर्ने बताउनुभयो ।

ब्रम्हारूपा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले कोभिडको महामारीबिच भौतिक उपस्थितीमा हुन लागेको कक्षा ११ र १२ को परीक्षा अवधिभर स्वास्थ्यकर्मीको राम्रो व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । रूपा गाउँपालिका वडा नम्बर–६ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले शिक्षक अभिभावक सङ्घ व्यवस्थापन समितिले पनि विद्यालयमा रहेका समस्याहरूको बारेमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो । मानवअधिकार समुहका अध्यक्ष सूर्य पौडेलले अरूले के गरे गरेनन् भन्दा पनि आ–आफ्नो जिम्मेवारीलाई मनन गर्दै जवाफदेही बन्नुपर्ने बताउनुभयो । उहाँले समस्याहरूलाई हल गर्नका लागि विद्यालय र स्थानीय सरकारबिच समन्वयात्मक भूमिका खेल्न तयार रहेको बताउदै विद्यार्थीहरूमा इन्टरनेटको पहुँच नपुगेका कारण कक्षामा जोडिन नसकिरहेकोले सो बारे वडासँगको समन्वय आवश्यक रहेको बताउनुभयो ।

सुशन घिमिरे