शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवलपरासी (सुस्तापूर्व) । २०७७ चैत ३१ गते

सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारको लागि भौतिक पक्ष भन्दा शैक्षिक पक्षलाई जोड दिन आवश्यक रहको कावासोतीमा आयोजित शिक्षाको अधिकारसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागीहरूले बताएका छन् । विद्यालयमा भौतिक संरचना राम्रो भएकै आधारमा त्यहाँको शैक्षिक अवस्था उत्कृष्ट हुन्छ भन्ने नभएको भन्दै शैक्षिक स्तर सुधारको लागि भौतिक पक्ष भन्दा बढी शैक्षिक पक्षमा जोड दिन आवश्यक रहेको सरोकारवालाहरूले बताएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा कावासोती नगरपालिकामा शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रममा बोल्दै शान्ति निकुञ्ज माविका प्रधानाध्यापक हरि न्यौपानेले तीनै तहको सरकारले विद्यालयको लागि विनियोजन गर्ने बजेटमा भौतिक पूर्वाधारमा बढी रकम विनियोजन हुने गरेको भन्दै विद्यालयको शैक्षिक पक्षको विकासको लागि योजना ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । स्थानीय तह र माथिल्लो निकायबाट नियमित विद्यालयको अनुगमन र शैक्षिक सिकाइको कार्यक्रम ल्याउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै मध्यविन्दु बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत छात्रा मनिसा पौडेलले मैले पढाएको विद्यार्थीले के सिके भन्दा पनि मैले कति वर्ष देखि पढाएको छु भन्ने कुरामा गर्व गर्ने शिक्षकको कारण सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर सुधार हुन नसकेको बताउनुभयो ।

सामुदायिक विद्यालयका शिक्षकमा रहेको जागिरे मानसिकताको उपज शैक्षिक सुधार हुन नसकेको उहाँले बताउनुभयो । नीजि विद्यालयमा विद्यार्थीले प्राप्त गर्ने अङ्कभारको आधारमा अभिभावक खुशी हुने गरेको भएपनि उनीहरूको सिकाइको अवस्था कस्तो छ भन्ने बारे अनभिज्ञ रहेको अनुभव उहाँले सुनाउनुभयो । संस्थागत विद्यालयहरूको तर्फबाट बोल्दै रमेश अधिकारीले नीति निर्माण भन्दापनि त्यसको सहि कार्यान्वयनको पाटोमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।  मण्टेश्वरी सञ्चालक शिक्षिका राधा लम्सालले विद्यालयको अनुगमन, मल्याङ्कन र पुरस्कृत गर्ने पद्धतिको आवश्यक रहेको बताउनुभयो । बाल अधिकारकर्मी दिपक शर्माले विद्यालयहरूले भौतिक रूपमा आफूहरू सम्पन्न भएको दाबी गरेपनि त्यहाँ विद्यार्थीको अनुपातमा शौचालय, धाराको व्यवस्थापन निकै न्यून रहेको बताउनुभयो । एउटा कक्षामा कति जनासम्म विद्यार्थी पढाउने हो भन्ने विषयमा पनि मापदण्ड बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । शिक्षाको विकासको लागि सोच, सहभागिता र स्रोतको सिद्धान्तबाट आगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा उपस्थित अभिभावकहरूको तर्फबाट बोल्दै पतिराम थनेतले बालबालिकाको शिक्षासँगै व्यवहारमा पनि परिवर्तन आउन आवश्यक रहेको भन्दै अभिभावकसँगै शिक्षकहरूले पनि उनीहरूलाई संस्कार सिकाउन आवश्यक रहेको बताउनुभयो । कावासोती नगरपालिका शिक्षा शाखाका तिर्थ कण्डेलले कावासोती नगरपालिकामा बाल संरक्षण नीति पारित हुने अवस्थामा रहेको भन्दै त्यसको सहि कार्यान्वयनमा जोड दिनुभयो ।

दिवा खाजा कार्यक्रमले विद्यार्थीहरूको विद्यालयमा नियमितता र विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा उल्लेखनिय सुधार आएको बताउनुभयो ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य प्रशान्त चापागाईंले संविधानले निःशुल्क शिक्षाको प्रत्याभूत गरेपनि कार्यान्वयन हुन नसकेको भन्दै त्यसको कार्यान्वयनको लागि सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नगर शिक्षा अधिकृत राजन पाण्डेले कावासोती नगरपालिकाले योजनाबद्ध रूपमा यहाँको शैक्षिकस्तर विकासको लागि काम गरिरहेको बताउनुभयो । विभिन्न सरोकारवालाहरूसँगको समन्वय र सुझावको आधारमा योजना निर्माण गर्दै शैक्षिक गतिविधि सञ्चालनको लागि नगरपालिकाले योजना अगाडि सारेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागिहरूबाट उठेका जिज्ञासाहरुको समेत उहाँले जवाफ दिनुभएको थियो ।

तिर्थराज डुम्रे