शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्याङ्जा । २०७८ पुस २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाको आयोजनामा फेदिखोला गाउँपालिका–३ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पुस २० गते शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले गाउँपालिकाका विद्यालयहरुमा गरिएको व्यवस्था बारे जानकारी दिनुभएको थियो । उहाँले विद्यालयहरुमा लगबुकको व्यवस्थाको लागि वार्षिक २ हजार रुपियाँ प्रदान गरिएको, वैकल्पिक शिक्षा अन्तरगत सामुदायिक शिक्षा को व्यवस्था गरिएको , कक्षा दुई देखि १२ सम्म अनिवार्य विषयहरुको किताब निःशुल्क वितरण गरिएको ,प्रत्येक विद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याड र दिवा खाजाको व्यवस्था गरिएकोे बताउनुभयो ।

 

कार्यक्रममा विद्यार्थीहरुले  विद्यालयमा शौचालय जिर्ण रहेको बताएका थिए । उनीहरुले विद्यालयमा पिउने पानीको समस्या, क्याण्टिन को उचित व्यवस्था नभएको, लाइब्रेरीको व्यवस्था नभएको, खेलकुदका सामग्री को अभाव साथै कम्प्युटर कक्षाको पनि व्यवस्था नभएको गुनासो राखेका थिए । विद्यार्थीहरुको समस्याका बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक यामकान्त मल्लले दुई वर्षदेखि भौतिक उपस्थितीमा पढाइ नभएको कारण विद्यालयको स्तरउन्नती गर्न नसकेको बताउदै निकट समयमा सबै समस्याको समाधान गर्न प्रयास भइरहेको बताउनुभयो।

फेदिखोला गाउँपालिका–३ वडाध्यक्ष कृष्णबहादुर रानाभाट ले विद्यायमा भौतिक निर्माणका कार्यहरु छिटै पुरा गरिने, अक्षय कोषको स्थापना र वैकल्पिक शिक्षा को व्यवस्था गरिने बताउनुभयो । इन्सेकद्वारा फेदीखोला गाउँपालिकामा गठन गरिएको मानवअधिकार निगरानी समूहका अध्यक्ष तथा फेदिखोला गाउँपालिका सदस्य धनराज केसीले इन्सेकद्वारा सञ्चालित यस्ता कार्यक्रमहरुले साच्चिकै सरोकारवालालाई जवाफदेही बनाउने र विभिन्न विषयमा जानकारी प्रदान गर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरुलाई एक स्थानिय तहमा मात्र सिमित नराखि सबै पालिकाहरुमा आयोजना गर्ने सुझाव दिनुभयो ।

तिलकुमारी थापा