शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
रौतहट । २०७७ पुस २५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २३ गते गरुडा नपा–९ नयाँ गम्हरीया श्रीपुरस्थित श्री मावि श्रीपुरमा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा श्री मावि श्रीपुरका प्रधानाध्यापक रामआधार पासवानले विद्यार्थीको चाप अत्यधिक रहेको र शिक्षक दरबन्दी कम रहेको बताउनु भयो । सिकाइ प्रभावकारी र गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको चाप अनुसार शिक्षकको दरबन्दी हुनु पर्नेमा उहाँले जोड दिनु भयो । सह–प्रधानाध्यापक परशुराम राउतले विद्यायलयमा १ हजार ६ सय विद्यार्थी रहेकोले सो बमोजिम शिक्षक अनुपातमा कमी रहेको बताउनु भयो ।
विद्यालयमा बालिकाहरू महिनावारी हुँदा सेनिटरी प्याडको प्रयोग र व्यवस्थापन तथा प्याड बदल्नेदेखि औषधि उपचारमा विषेश ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो । कोभिड–१९ का कारणले विद्यालय बन्द भएको बेला विद्यालयले वैकल्पिक शिक्षा लागु गरेपनि प्रभावकारी हुन नसकेको गरुडा नगरपालिकाका शिक्षा संयोजक मौजेलाल राय यादवले बताउनु भयो । विद्यालयको सम्पूर्ण व्यवस्थापन पक्षलाई सहज तरिकाले उठेका समस्याहरू उपर श्रोत तथा सम्बन्धित निकायबाट पहल गरी सामाधान गर्ने श्री मावि श्रीपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार दासले प्रतिबद्धता जनाउनु भयो । कक्षा १० की छात्रा प्रितीकुमारी दासले शिक्षकहरूले दिनु भएको शिक्षाप्रति हामी सन्तुष्ट रहेको बताउनु भयो ।
कोपिला तिमल्सिना