शिक्षाको सवालमा सरोकारबालाबिच अन्तरक्रिया सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०७७ माघ २२ गते

 

अनौपचारिक क्षेत्र सेवा (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले शैक्षिक क्षेत्रको विकासको लागि गाउँपालिका गम्भीर रहेको बताउनुभएको छ । गाउँपालिका भित्रका सबैलाई अनिवार्य र निःशुल्क शिक्षाको पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिबद्ध रहेको भन्दै उहाँले मानव विकास सुचाङकको प्रमुखमध्ये रहेको शैक्षिक क्षेत्रको विकासको लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभएको हो । बजेट अभावमा दरबन्दी अनुसारको शिक्षक व्यवस्थापन गर्न नसकिए पनि विनियोजित बजेट अनुसारको कार्यक्रम बनाएर शैक्षिक गतिविधि अगाडि बढाएको उहाँले बताउनुभयो । कोभिड–१९ को कारण प्रभावित शैक्षिक कार्यलाई पुनः नियमित गरिएको भन्दै उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत शिक्षित बेरोजगार युवाहरूलाई शैक्षिक गतिविधिमा परिचालन गर्ने बिषय छलफल भइरहेको जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष मिनाकुमारी रानाले विद्यालय शिक्षामा विद्यार्थी आकर्षित गर्ने कार्यक्रमहरू दिवा खाजा, छात्राहरूको लागि सेनेटरी प्याडको व्यवस्था गरिएको बताउनुभयो । विनयीत्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष विष्णु ढकालले भौतिक संरचनाको सुधारसँगै गुणस्तरिय शिक्षा गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो । गाउँपालिका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेयले कोभिड–१९ को कारण लामो समय विद्यार्थीहरू विद्यालय शिक्षाबाट वञ्चित हुन परेको अवस्थामा अहिले यहाँका विद्यार्थीहरूको कसरी सम्पूर्ण पाठ्यक्रमलाई प्रभावकारी रूपमा अध्ययन गराउन सकिन्छ भन्ने विषयमा जनप्रतिनिधि, अभिभावक र शिक्षकबिच छलफल भइरहेको जानकारी दिनुभयो । संविधानले प्रदान गरेको निशुल्क शिक्षा कार्यान्वयनको लागि गाउँपालिका प्रतिबद्ध रहेको भन्दै विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाहरूलाई नियमित शिक्षा प्रदान गर्न अग्रसर रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागी शिक्षकहरूले गाउँपालिकामा बालविवाहको दर उच्च रहेको भन्दै त्यसको न्यूनिकरणको लागि सबै पक्षको सहयोग आवश्यक पर्ने बताउनुभएको थियो । भानुदय नमुना माविका शिक्षक काशिराम भुसालले विद्यालयका लागि बालविवाह प्रकोप जस्तै भएको भन्दै अभिभावकहरू आफ्ना बालबालिका के मा व्यस्त छन् भन्ने विषयमा गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो । जनजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रकला कार्कीले क्रसर र ढुङ्गागिटी व्यवसायको कारण छात्रहरू कक्षा ६ अध्ययन गर्दा देखिबाट नै विद्यालयबाट बाहिरिनेको सङ्ख्या बढेको बताउनुभयो । रातभर ढुङ्गागिटी सङ्कलनमा जाने र दिउँसो विद्यालय अध्ययन गर्न नआउने छात्र विद्यार्थीहरूको सङ्ख्या बढेको भन्दै उहाँले यसप्रति सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी अभिभावक यमुना पाठक भुसालले किशोर अवस्थाका युवाहरू लागुऔषध प्रयोगमा बढि रहेको भन्दै तत्काल यस विषयमा गम्भीर नबने भविष्यमा समस्या सृजना हुनसक्ने बताउनुभयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले निःशुल्क शिक्षा, अपाङ्गमैत्री भवन र छात्रा मैत्री शौचालय व्यवस्थापन गर्न गाउँपालिकाले अग्रसरता देखाउन आवश्यक रहेको बताउनुभयो । विद्यालयमा हुने शारीरिक तथा मानसिक हिंसाविरूद्ध विद्यार्थी र अभिभावक सचेत र शिक्षक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । बालबालिकालाई हिंसा, अपराध र कानुनी उपचारको बारेमा विद्यालय तहमा शिक्षा प्रदान गर्न आवश्यक रहेको उहाँको भनाई थियो । मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धर्मबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सहजकर्ता गङ्गा विश्वकर्माले गर्नुभएको थियो ।

तिर्थराज डुम्रे