शिक्षा अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक सम्वाद सम्पन्न
कञ्चनपुर । २०७८ भदौ १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा शिक्षा अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक सम्वाद कार्यक्रम कृष्णपुर नगरपालिकामा भादौ १५ गते सम्पन्न भएको छ । इन्सेकद्वारा कृष्णपुर नगरपालिकामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत गठित मानव अधिकार समुहले इन्सेकको सहयोगमा शिक्षा अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक सम्वाद कार्यक्रमको आयोजना गरेको हो । श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर धामीले सामुदायिक विद्यायलयहरुमा शिक्षाको गुणस्तर राम्रो नभएका कारण अभिभावकहरुको विश्वास खस्कीदै गइरहेकोले यसतर्फ सरोकारवालाहरुको ध्यान जान आवश्यक रहेको बताउनु भयो । जनजाग्रिती माध्यमिक विद्यालयका अध्यक्ष हिमाल कार्कीले नगरपालिकाले आफ्नो विद्यालयमा एक जना पनि स्थायी शिक्षकको व्यवस्था नगरेका कारण विद्यालय सञ्चालन मै समस्या उत्पन्न भएको बताउनु भयो । उहाँले नेपाल सरकारले विद्यार्थीहरुलाई वितरण गरिरहेको सियूजि सिमका लागि विद्यालयमा आबेदन नआएकोले तत्तकाल अनलाइन कक्षा सञ्चालन गर्न नसकिने बताउनु भयो ।
महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश कुँवरले कोभिड सङ्क्रमणको पहिलो चरण भन्दा दोस्रो चरण बढी जोखिमयूक्त भएको र तेस्रो चरणमा बालबालिकाहरुलाई बढी प्रभाव पार्ने विज्ञहरुको भनाई अनुसार विद्यालयमा सुरक्षा मापदण्डको पूर्ण सुनिश्चितता नगरि भौतिक रुपमा विद्यालयहरु सञ्चालन गर्न नहँुने बताउनु भयो । कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपालदत्त बडुले प्रत्येक्ष रुपमा विद्यालय सञ्चालन नभएसम्म शिक्षण शिकाई प्रभावकारी हुन नसक्ने भएकोले सुरक्षा मापदण्डको पूर्ण पालना गरी भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका अभिभावकहरुले मोबाइन फोन किन्न नसक्ने स्थिति भएकोले बालबालिकाका लागि सञ्चालन गरिने भनिएको अनलाइन कक्षा प्रभावकारी नहुँने उहाँले बताउनु भयो । बालअधिकार चेतना समुहका अध्यक्ष मनिसा जोशीले विद्यालयलाई राजनीतिककरण गर्ने कार्य बन्द गरी सरकारी विद्यालयले गरेका राम्रा कामहरुको मिडियामार्फत प्रचारप्रसार गर्नु पर्ने बताउनु भयो । उहाँले कोभिड माहामारीका कारण विद्यालयहरु बन्द भएपछि कक्षा ८ भन्दामाथि अध्ययनरत विद्यार्थीहरु रोजगारीका लागि दिनहँु भारत गइरहेको प्रति सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको बताउनु भयो । कृष्णपुर नगरपालिका शिक्षा शाखा प्रमुख बिष्णुदत्त भट्टले विद्यालय सञ्चालन गर्ने र बन्द गर्ने अधिकार नगरपालिकालाई नभएकोले जिल्लास्थित कोभिड व्यवस्थापन समितिको बैठकमा टोलकक्षा सञ्चालनका लागि प्रस्ताव गरिएको बताउनु भयो । कोभिड व्यवस्थापन समितिले स्विकृत दिएको अवस्थामा केही दिन भित्रै टोल कक्षाहरु सञ्चालन गर्न सकिने भट्टले बताउनु भयो ।
लिली कुँवर