शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा जोड

सल्यान । २०७७ फागुन २७ गते

शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेक सल्यानको आयोजनामा फागुन २६ गते सदरमुकाम खलङ्गामा आयोजित शिक्षा र स्वास्थ्य अधिकारका सवालमा सार्वजनिक सुनुवाई कार्यक्रमका शिक्षा र स्वास्थ्य क्षेत्र नागरिकको मौलिक अधिकार भित्र पर्ने भएकाले सर्वसुलभ एवम् गुणस्तरीय हुनुपर्ने बताएका र यसका लागि आवश्यक पर्ने भौतिक पुर्वाधारसँगै सेवा प्रवाहमा पनि जोड दिनुपर्ने बताएका छन् । कार्यक्रममा शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर नगरले काम गरिरहेको बताउनु भयो । नगरभित्रको शिक्षामा गुणस्तरीयता कायम गर्न मेयरसँग बिद्यार्थी कार्यक्रम सञ्चालन भैरहेको उहाँको भनाई छ । आर्थिक अभावका कारण कुनैपनि बालबालिका पढाइबाट बञ्चित हुन नपर्ने बताउँदै उहाँले आर्थिक अवस्था कमजोर भएकी अप्सरा गन्धर्वलाइ कक्षा ११ मा भर्नाको निम्ती वर्षभरीको शुल्क नगरपालिकाको तर्फबाट उपलब्ध गराउने बताउनु भयो । आगामि वर्ष नगरले स्वास्थ्य क्षेत्रलाइ मध्यनजर गर्दै एम्वुलेन्स र शव वाहन खरिद गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भैरहेका कामहरूको प्रसंशा गर्दै आगामी दिनहरूमा थप स्तरीय बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सिपि वलीले पछिल्लो समयमा अस्पतालमा बिरामीको चाप बढ्दै गएकोले सेवामा सुधार आउनु तथा आवश्यक संरचना निर्माण र स्तरीय सेवा प्रवाह गरेकाले दैनिक ३ सयको हाराहारीमा बिरामीहरु उपचारको लागी आउने गरेको बताउनुभएको छ । उहाँले अस्पतालमा संरचना निर्माणसँगै सरसफाइका कार्यहरूलाई पनि थप प्रभावकारी ढङ्गले सञ्चालन गर्ने तयारी भैरहेको बताउनुभयो । सल्यान जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले आवश्यक जनशक्तिको अभावमा पनि सेवा प्रवाहमा कुनै कमी नगरेको बताउनु भयो  ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले नगरका सबै क्षेत्रमा नागरिकहरूलाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याएको बताउनुभयो । हालै मात्र नगरका दश वटा माद्यामिक बिद्यालयहरुमा स्कुल नर्स कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । यस्तै नगरमा बहुक्षेत्रिय पोषण योजना, पुर्ण खोप सुनिश्चित नगर लगाएका कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । शारदा नगरपालिका शिक्षा शाखाका संगिता बुढाले शिक्षामा थप गुणस्तरीयता कायम गर्न एक बिद्यालय एक ल्याप्टपको कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । शिक्षा क्षेत्रको सर्बाङ्गिन विकासको लागि नगर शिक्षा निम्ति समेत निर्माण गरिएको र विद्यार्थी, अभिभावक र शिक्षककाबीचमा त्रिपक्षिय सहकार्यका माध्यमबाट बिद्यालयहरू सञ्चालन भैरहेको जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्याहरूका बारेमा चासो व्यक्त गरेका थिए । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभएको थियो ।

मिना बुढाथोकी