शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार विषयक गोष्ठी सम्पन्न

सुर्खेत । २०७९ वैशाख १ गते

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार विषयक गोष्ठी चैत २९ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा आयोजना गरिएको गोष्ठीमा राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले जिल्लामा भूमिहीनलाई जग्गाधनी प्रमाण पत्र (पुर्जा) वितरण गर्न सुरु गरिसकेको भन्दै अब वीरेन्द्रनगरमा भूमिहीनहको समस्या केही हदसम्म कम हुने बताउनु भयो । नगरपालिकाको शिक्षा शाखाका प्रतिनिधि उत्तमप्रसाद आचार्यले लगानी कम हुँदा अपेक्षित उपलब्धि हासिल गर्न निकै चुनौति रहेको बताउनु भयो । यद्यपी, नगरपालिकाले अधिकतम प्रयत्न गरेको उहाँले बताउनु भयो । स्वास्थ्य शाखाका प्रमुख पर्शुराम खड्काले पनि नगरभित्रका विद्यालयहरूमा स्वास्थ्यकर्मी राखेर विद्यार्थीको प्राथमिक उपचार, सामान्य स्वास्थ्य परीक्षण र मनोविमर्श, परामर्शको क्षेत्रमा टेवा पुगेको बताउनु भयो ।

भूमि अधिकार मञ्च सुर्खेतका अध्यक्ष राजेन्द्र शर्मा भूमि र आवासको समस्या समाधानका लागि नगरपालिकाले कामलाई गति दिनुपर्ने अवस्थामा थाति राखेको आरोप लगाउँदै भूमिहिनहरू नगरक्षेत्रमा धेरै रहेको बताउनु भयो । स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाउने औषधिहरू समेत पाउन नसकिएको सहभागीहरूको गुनासो रहेको छ ।  अहिले विद्यालयहरूमा भर्ना अभियान चलिरहेकामा आधारभूत तहको शिक्षा निःशुल्क भनेपनि नगरक्षेत्रका विद्यालयले धमाधम शुल्क लिइरहेको सहभागीले गुनासो गरेका थिए । सहभागीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा बढ्दो समस्या रहेको भन्दै सरोकारवालाहरूले समाधानका लागि ध्यान दिनुपर्ने बताएका थिए ।

पूर्णबहादुर खड्का