शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी कार्यक्रम सम्पन्न
धनुषा । २०७७ फागुन २६ गते
मिथिला नगरपालिकामा १ सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र मिथिला नगरपालिकाको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा महिलाको पहुँच विषयक अन्तर्क्रिया कार्यक्रम फागुन २५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा मिथिला नगरपालिकाका नगर उपप्रमुख तारा लामा बस्नेतले संविधानले कानुनी रूपमा महिलाहरूलाई शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा पहुँच सुनिश्चित र सहज हुने उल्लेख गरिएपनि व्यवहारिक रुपमा अझै कार्यान्वयनका पक्ष कमजोर भएको बताउनु भयो । महिलाहरूको हक अधिकारका सवालमा बनेका ऐन तथा कानुनलाई परिपालनाको साथै कार्यान्वयन गरिनुपर्नेमा उहाँले जोड दिनु भयो ।
मिथिला नगरपालिकाले महिलाको साथै तेस्रो लिङ्गीहरूको लागि समेत बजेट विनियोजन गरेको उहाँले बताउनु भयो । आफ्नो स्थानीय तहमा मिथिलाको चाहना, घर–घरमा साहाना नामक शिर्षकमा ब्याचलर पढ्ने छोरी तथा बुहारीहरूलाई नगरपालिकाबाट सहयोग गर्दै आएको उहाँले बताउनु भयो । स्वास्थ्यको क्षेत्रमा पालिकामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको र त्यसमा दक्ष जनशक्तिलगायतका प्राविधिक तथा औषधिहरू पटकपटक स्थानीय तहले आवश्यकता अनुसार प्रदान गर्दै आएको उहाँले बताउनु भयो । कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य संयोगिता साहले श्रमिक महिलाहरू शिक्षाबाट वञ्चित हुँदै गर्दा पोषिलो खानेकुरा, स्वास्थ्य सेवा, खाद्य र आवासको सुखसुविधामा समेत वञ्चित हुनु परेको बताउनु भयो । महिलाहरूले समयमै स्वास्थ्य सेवा नपाएर कतिपय सुत्केरी नहुँदै आमाहरूको ज्यान जानेसम्मको घटना हुदै आएकोमा यसबाट हामी सचेत हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
हामी महिलाहरूले न्यायको पक्षमा उभिएर कुसंस्कृति र कुसंस्कारलाई चिर्दै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा फड्को मार्नुपर्नेमा उहाँले जोड दिनु भयो । दङ्गा नियन्त्रण धनुषाका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले महिलाको शिक्षा, स्वास्थ्य, खाद्य र आवासकोे क्षेत्रमा पहुँच नबढेसम्म समाजमा परिवर्तन हुन नसक्ने भएकाले यसबारे सचेत हुँदै आफ्नो हक अधिकारका लागि अग्रसर हुनुपर्नेमा जोड दिनु भयो । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले हाम्रो समाजमा जबसम्म छोरालाई निजी विद्यालय र छोरीलाई सरकारी विद्यालय पढाउने संस्कारको अन्त्य हुँदैन तबसम्म सभ्य समाज निर्माण हुन नसक्ने विचार व्यक्त गर्नु भयो ।
नगर बाल सञ्जाल मिथिला नगरपालिकाका अध्यक्ष अङ्कित कुशवाहाले महिला र पुरुष बराबर भनेर भनिए पनि व्यवहारमा लागु हुन नसकेको बताउनु भयो । मानव अधिकार निगरानी समूहका सचिव नन्दकुमार महतोले शिक्षाबाट अझै बालबालिकाहरू वञ्चित हुँदै आएको बताउनु भयो ।
दिपेन्द्रप्रसाद सिंह