शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई सम्पन्न
जाजरकोट । २०७७ फागुन २६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा छेडागाड नगरपालिकामा फागुन २५ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले इन्सेकले सञ्चालन गरेका कार्यक्रमको प्रभावबाट नागरिकहरूले राहत पाउँदै आएको बताउनु भयो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत आवश्यकतालाई व्यवस्थित गर्नुपर्ने सहभागीलेहरूले धारणा राखेका थिए । नगर स्तरिय मानव अधिकार समूहका अध्यक्ष नन्दबहादुर खड्काले सरकारले विद्यालयमा निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भने पनि विद्यालयमा महिनावारी हुँदा एक पटकमा एउटा मात्र प्याड उपलब्धहुने गरेको भएपनि नगरपालिका भित्रका धेरैजसो विद्यालयमा खानेपानीको अभावका कारण सरसफाई हुन नसक्दा छात्राहरू विद्यालय आउन नसकिरहेको बताउनु भयो । उहाँले आवस्यकता अनुसारको प्याड तथा खानेपानिको व्यवस्था मिलाउन समेत आग्रह गर्नु भयो ।
सेवागाहीहरूले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नु पर्ने, आधारभुत शिक्षा निशुल्क र अनिवार्य गर्नुपर्ने, मावि तह सम्मको शिक्षा निशुल्क भनिए पनि शिक्षकहरूलाई तलब खुवाउने बहानामा सरकारी विद्यालयहरूले शुल्क लिने गरेको गुनासो गरेका थिए । स्वास्थ्य अधिकारको सवालमा स्वास्थ्य चौकीहरूमा परिवार नियोजनका अस्थाई साधनको उपलब्धता, ब्लड प्रेसर जाँच र मधुमेहको चेकजाँच तथा औषधि निशुल्क गराउनु पर्ने माग गरेका थिए । सेवाग्राहीले उठाएका सवालमा शिक्षा शाखा प्रमुख खडक केसीले शिक्षाको अवस्था विषयमा नगरपालिकाले गरेका काम तथा योजनाकाबारे जानकारी गराउँदै नागरिकहरूबाट आएका सुझावलाई अङ्गिकार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै प्रमुख केसीले नगरपालिका भित्र शिक्षकको जनशक्ति धेरै कम रहेकाले के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आगामी दिनमा यस बिषयमा समेत ध्यान पुर्याउने बताउनु भयो ।
पशु सेवा शाखा प्रमुख अमृत गिरीले कृषि तथा पशु शाखाले सेवाग्राहीले उठाएका सुझावलाई आगामी वर्ष भित्रमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो । छेडागाड नगरपालिकाका मेयर लालबहादुर महताराले नगरवासीहरूको स्वास्थ्य, शिक्षा, खाद्य र आवासमा देखिएका समस्याहरूलाई समाधान गर्न आफू लागि परेको बताउनु भयो । उहाँले शिक्षामा सुधार गरिएको र छेडागाड नगरपालिका पूर्ण विद्यार्थी भर्ना र पूर्ण खोप घोषणा गरिएको, बालमैत्री शासन पालिका घोषणाको तयारीमा रहेको बताउनु भयो । सार्वजनिक कार्यक्रम सम्पन्न पश्चात इन्सेक कर्णाली प्रदेशको टोली र छेडागाड नगरपालिकामा गठित नगर स्तरिय मानव अधिकार समूहका पदाधिकारी तथा सदस्यहरू बैठक बसेर नगरपालिकामा मानव अधिकारको अवस्था र समूहले गरेका कामको बारेमा छलफल गरिएको थियो ।
दिनेशकुमार श्रेष्ठ