शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया

कैलाली । ०७८ असोज २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गोदावरी नगरपलिकास्तरीय मानव अधिकार समूहको सहकार्यमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम असोज २० गते अत्तरियामा सम्पन्न गरिएको छ । गोदावरी नगरपलिकाका उपप्रमुख रत्ना कडायतले जनप्रतिनिधि, कर्मचारी र मानव अधिकार समूहका पदाधिकारी मिलेर संयुक्त रूपमा विद्यालय, अस्पताल तथा स्वास्थ्यचौकीको अनुगमन गर्नु पर्ने बताउनु भयो । उहाँले शिक्षक दरबन्दी परिपुर्ति गर्न नगरपालिकाले नगर शिक्षक ऐनको कार्यविधि ल्याएकाले त्यसमै टेकेर शिक्षक दरबन्दी मिलान गर्नुपर्ने बताउनु भयो ।

गुहेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक मानबहादुर खडकाले विद्यार्थीहरूको शिक्षण सिकाइ तथा शिक्षकहरूको मनोबल उच्च पार्न शिक्षा शाखाबाट अनुगमन गर्नु पर्ने र करार शिक्षकका लागि बजेटको व्यवस्था गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका सहभागी लक्ष्मी नेपालीले अति विपन्न, बेरोजगार भएकाले ६ जना छोरीहरूलाई कापी, किताब र पोशाक किन्न नसकेका कारण विद्यालय जानबाट वञ्चित हुनु पर्ने अवस्था आएको बताउनु भयो । उहाँले भन्नुभयो–‘सानो फुसको झुपडी छ । त्यो पनि चुहिन्छ । जनता आवास कार्यक्रम अन्तर्गत फारम भरेको छु । तर, जस्तापाता कहिले आउँछ थाहा छैन । आजसम्म कसैले राहत पनि दिएको छैन ।’

महिला स्वास्थ्य स्वयमसेविका देवी ओझाले स्वास्थ्य चैकीमा निःशुल्क पाउने औषधि अभाव हुँदा गर्भवतीहरूले बढी समस्या भोग्नु परेको र महङ्गोमा औषधि किनेर खानु पर्ने बाध्यता रहेको बताउनु भयो । विद्यार्थी धनशेर धामीले लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीहरू लागुऔषधको कुलतमा फसेकाले अभिभावक र शिक्षकहरूले ध्यान दिनु पर्ने बताउनु भयो । गोदावरी नगरपािलकाका–१२ का वडा अध्यक्ष भिमबहादुर खड्काले स्वास्थ्य र शिक्षबाट वञ्चित हुनु परेको बताउँदै हाडखोलीका नागरिकले विद्यालय टाढा भएका कारण कक्षा पाँचभन्दा माथि कसैले पनि पढ्न नपाएको उल्लेख गर्नुभयो ।

गोदावरी नगर कार्यपालिका सदस्य लहानु चौधरीले सामुदायिक विद्यालय व्यवस्थापन तथा शिक्षण सिकाइ फितलो हुँदा सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास घटेर निजी विद्यालयप्रति आकर्षण बढेको बताउनु भयो । गोदावरी नगरपािलका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले कर्मचारीको अभावका काराण समय अनुसार विद्यालय अनुगमन गर्न नसकेको बताउनु भयो ।

मैनामोती चौधरी