शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी सम्पन्न
महोत्तरी । २०७८ कात्तिक ३० गते
इन्सेक महोत्तरी र मानव अधिकार समूह गौशालाको आयोजनामा कात्तिक २९ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी गोष्ठी सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत गौशला नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा छलफल भएको हो । गोष्ठीमा मानव अधिकार समूहका अध्यक्ष विन्देश्वर साहले नगरपालिका भित्रका सबै वडामा कात्तिक पहिलो हप्ता आएको वर्षाले धान, कोदो, मकै नष्ट गरेकाले खाद्यान्न सङ्कट हुनसक्ने बताउँदै स्थानीय सरकारले समाधान गर्नु पर्नेमा जोड दिनु भयो । मानव अधिकार निगरानी समूहकी उपाध्यक्ष सबिना महतोले मानव अधिकारका विषयमा इन्सेकका गतिविधिहरू अभियानमूखी भएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी सुमिरा तिमल्सिनाले विद्यालयमा छात्राहरूले पाउनु पर्ने सेनिटरी प्याड समेत उपलब्ध नभएको र शौचालयको पनि व्यवस्थापन नभएको भन्दै छिट्टै व्यवस्था गर्नु पर्ने बताउनु भयो । वडा नं. ९ का वडा सदस्य जुलेखा खातुन समूहलाई अझ बढी शसक्त गराउँदै काम गर्ने बताउँदै समूहको क्षमता अभिवृद्धिसम्बन्धी तालिमका लागि इन्सेकसँग माग गर्नुभयो । नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रगास महतो छात्राहरूको लागि सेनिटरी प्याड खरिदको प्रकृया अगाडि बढिसकेको र अब केहि दिनमा विद्यालयहरूलाई सेनटरी प्याड उपलब्ध गराउने बताउनु भयो । समूहले नगरमा पहिचान गरेका स्थानीय सवाल तथा समस्या र समाधानका लागि मानव अधिकार समूहको सक्रियतामा सरोकारवालालाई दबाब सिर्जना गर्नका लागि कार्ययोजना बनाउने जनाएको छ ।
अजयकुमार साह
HUMAN RIGHTS NEWS PORTAL






