शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
कालीकोट । २०७८ फागुन २६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह शुभकालिकाको सहकार्यमा स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २४ गते सम्पन्न गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा खाँडाचक्र मानव अधिकार समूहका स्थानीय अलिबहादुर शाहीले शुभकालिका गाउँपालिका–४ का जयकला सुनार, पर सुनार र दल सुनारको घर नहुँदा अर्काको घरमा बस्नु पर्ने अवस्था रहेकाले स्थानीय सरकारको ध्यान जानु पर्नेमा बताउनु भयो । कार्यक्रमका महदेव मावि राराकाटियाका शिक्षक महेन्द्र चौलागाँईले गाउँपालिका भित्रका विद्यालयमाहरूमा सेनिटरी प्याडको अभाव, खानेपानीको अभाव र कोभिडका कारण विद्यालयहरूमा पठनपाठन सुचारु नभएको बतउनु भयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सवालमा प्रतिबद्धता जनाउँदै गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले अवासविहीन भएकाहरूलाई एक महिनाभित्र आवासको व्यवस्था मिलाउने, जहाँ जे समस्या आएको छ त्यसको सामाधानका लागि कार्यपालिकाबाट निर्णय गरी समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा मानव अधिकार समूहका संयोजक पर्शुराम गाउँलेले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संविधानकै मौलिक हकमा व्यवस्था भएको र त्यसको प्रत्याभूति गराउन स्थानीय सरकारले आफ्नो स्रोत साधनको उचित प्रयोग गर्नु पर्ने बताउनु भयो ।
शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले गाउँपालिका स्वास्थ्य, शिक्षा, खाद्य र आवासका सवालमा मानव अधिकार समूह र स्थानीय नगरिकका आवजलाई उचित सम्बोधन गर्ने गरेको र अबका दिनमा पनि समस्या भएका ठाउँमा उचित समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै उहाँले कोरोनाले गर्दा शैक्षिक क्षेत्र धेरै प्रभावित भएतापनि गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यपकहरूको बैठक बसी गुणस्तरीय शिक्षाका लागि कार्यक्रम र योजनाहरू बनाएर कार्यान्वयन गरिरहेको बताउनु भयो ।
कालीबहादुर मल्ल