शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे अन्तरक्रिया सम्पन्न

तनहुँ । २०७८ चैत ११ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा चैत १० गते बन्दिपुर गाउँपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेर कार्यान्वयन गरिएको बताउनुभयो । यी विषयहरु मौलिक हक मात्र नभएर नागरिकका आधारभुत अधिकार पनि भएको हुँदा गाउँपालिकाले पनि यसलाई उच्च प्राथमिकतामा राखी यस वर्ष छुट भएका कार्यक्रमहरु अब निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिले समावेश गर्ने र आफुले पनि त्यसमा सहयोग गर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले विपन्न एकल महिला, अपाङ्गता भएका, अशक्त र असहायलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने, प्राकृतिक प्रकोपको कारण क्षति भएकाहरुलाई राहत उपलब्ध गराउने, बैकल्पिक विधिको शिक्षणलाई प्राथमिकता दिने तथा स्वास्थ्य चौकीमा औषधीको पर्याप्तताको ग्यारेन्टीको विषयलाई प्राथमिकतामा राखिएको बताउनु भयो । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी विषय कुनै एक संस्थाले दबाब दिनुपर्ने विषय भन्दापनि नगरपालिका आफैले यसलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्ने उपाध्यक्ष गुरुङको भनाइ थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित सवालको बारेमा सम्बन्धित शाखाका कर्मचारीहरुले जानकारी गराउनुभएको थियो । ४० जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।

प्रकाशचन्द्र भट्टराई