शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था बिषयक अन्तरक्रिया सम्पन्न
कञ्चनपुर । २०७८ चैत १७ गते
इन्सेक सुदूपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र पुर्नवास नगरपालिकाकाको सहकार्यमा स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम चैत १६ गते पुर्नवासमा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा मानव अधिकार समुहले पुनर्वास नगरपालिका क्षेत्रमा पहिचान गरेका शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारसँग सरोकार राख्ने मुख्य सवाल तथा समस्याहरु इन्सेक सहजकर्ता कैलाश पनेरुले छलफलका लागि प्रस्तुत गर्नु भएको थियो । पुनर्वास नगरपालिकाका सामुदायिक विद्यालयहरुको आधारभूत तहमा बालबालिकाको सङ्ख्या न्यून रहेको र माध्यमिक तहमा बालबालिकाको सङ्ख्या अधिक रहेको, विद्यालयमा बालबालिकाको अनुपातमा शिक्षकहरुको व्यावस्थापन गर्न समस्या भइरहेको पुनर्वास नगरपालीकाका शिक्षा शाखा प्रमुख शिबराज भट्टले बताउनु भयो । उहाँले आउंदो शैक्षिक सत्रबाट कक्षा ११ र १२ का विद्यार्थीहरुलाई समेत निःशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गरिने प्रतिवद्धता जाहेर गर्नु भयो ।
नेपाल सरकारको नीति अनुरुप पुनर्वास नगरपालिकाका प्रत्येक वडाहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरी सञ्चालनमा ल्याएको जानकारी पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनबहादुर गुरुङ्गले बताउनु भयो । उहाँले समस्या मात्रै औल्याउनु भन्दा नगरपालिकाले गरेका राम्रा कामहरुमा समेत ध्यान दिन मानव अधिकार समुहलाई आग्रह गर्नु भयो । पुनर्वास नगरपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धौलराम सार्कीले नगरकार्यपालिकाको बैठकमा कुनै पनि निर्णय गर्दा सर्वसम्मत रुपमा गरिने भएपनि बजार अनुगमनको पाटो फितलो रहेको स्विकार्दै बालबालिकाहरुलाई अखाद्य बस्तुबाट बचाँउनका लागि व्यापक जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो । जिवनज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबहादुर बस्नेतले विद्यायालयकै गेटमा ब्यापारीहरुले बालबालिकाहरुलाई अखाद्य बस्तुहरु बिक्रीवितरण गरिरहेकोले नगरपालिकाको अनुगमन संयन्त्रले त्यस्ता ब्यापारीहरुलाई बिस्तापित गर्न सहयोग गर्न आग्रह गर्नु भयो ।
स्थानीय समाजसेवी तथा जिवनज्योती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बिजयराज हमालले नेपाल सरकारले विभिन्न लक्षित समुदाय तथा उमेर समुहका नागरिकहरुलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता मासिक रुपमा उपलब्ध गराउनु पर्ने माग गर्नु भयो । पुनर्वास नगरपालिका वडा नम्ब ५ का अध्यक्ष बिरबहादुर बोगटीले बिगत दुई वर्षदेखि जनता आवास कार्यक्रम सञ्चालनमा आउन नसक्दा आर्थिक रुपमा बिपन्न नागरिकहरुलाई समस्या भइरहेकोले नगरपालिकाले जनता आवास कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो । पुनर्वास नगरपालिकामा यो वर्ष मलखादहरु वितरण गर्नका लागि नगर क्षेत्रमा क्रियाशिल ११ ओटा सहकारीहरु छनौट भइसकेको तथा प्रदेश सरकारले पुनर्वास नगरपालिकाको मलखादको कोटा साल्टटे«डिङ् कार्यालय, धनगढीबाटै छुट्याउने निर्यण समेत गरिसकेकोले पुनर्वास क्षेत्रका किसानहरुले यो वर्षदेखि समयमै आवश्यक मात्रामा सुलभ दरमा मलखादहरु पाउने विश्वास पुनर्वास नगरपालिकाका कृर्षी शाखा प्रमूख ललिता चौधरीले बताउनु भयो ।
लिली कुँवर