शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा । २०७७ कात्तिक २७ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा मिथिला नगरपालिकामा कात्तिक २६ गते स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सरकारी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले स्वच्छ खानेपानीलाई पहिलो प्राथमिकता र शिक्षा क्षेत्रलाई दोस्रो र स्वास्थ्यलाई तेस्रो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भयो । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै असोजदेखि मिथिला नगरपालिकाको १८ ओटा संस्थागत र २८ ओटा सामुदायिक विद्यालयहरूमा वैकल्पिक माध्यमका साथै सुरक्षा सामग्रीको बन्दोवस्त गरी विद्यालय सुचारु गरिएको पनि उहाँले बताउनु भयो ।विद्यालयहरूमा शिक्षकहरूको सङ्ख्या अपुग भएकाले १० जना शिक्षकलाई काजमा ल्याउनुको साथै १४ जना प्राविधिक शिक्षक नियुक्त गरी पठनपाठनलाई गुणस्तरीयतामा प्राथमिकता दिएको उहाँले बताउनु भयो ।

मिथिला नगरपालिका नगर प्रमुख महतोले हाल शिक्षा क्षेत्रमा आएको परिवर्तनले संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीहरूको सङ्ख्यामा बढोत्तरी हुँदै गएको बताउनु भयो । मिथिला नगरपालिकामा–११ वडा रहेकोमा हालसम्म सात ओटा स्वास्थ्य चौकीमार्फत जनताहरूको स्वास्थ्य सेवामा पहुँच हुन नसकेकोमा चालु आर्थिक वर्षमै पाँच ओटा वडामा थप स्वास्थ्य चौकीको निमार्ण गरिने नगर प्रमुख महतोले प्रतिबद्धता व्यक्त गर्नु भयो । कृषिको लागि ५० प्रतिशत अनुदानमा कृषकहरूलाई विभिन्न कृषि सामग्रीको साथै विउ विजनसमेत अनुदानमा दिँदै आएको उहाँले बताउनु भयो । धान खेतमा किरा प्रकोप नियन्त्रणका लागि पालिकाले पहल गर्दै आएको उहाँले बताउनु भयो । पशु विकास सेवालाई पालिकाको सम्पूर्ण वडामा सेवा दिनका लागि प्राविधिकलगायत थप जनशक्तिको आवश्यकता देखिएकाले आफुहरूले प्रक्रिया पु¥याएर जनशक्ति व्यवस्थापनका लागि अग्रसर रहेका उहाँले प्रतिबद्धता जाहेर गर्नु भयो । कार्यक्रममा ३४ जनाको उपस्थिति रहेको थियो ।

दिपेन्द्रप्रसाद सिंह