शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई घोषणा पत्रमा समेट्न राजनीतिक दललाई ज्ञापन पत्र

बर्दिया । २०७८ चैत २१ गते

इन्सेक र मानव अधिकार समूहले स्थानीय तहको निर्वाचनमा शिक्षा स्वास्थ्य खाद्य र आवासका सवाललाई घोषणा पत्रमा समेट्न माग गर्दै  राजनीतिक दलहरूलाई चैत २१ गते ज्ञापन पत्र बुझाएको छ । बाँसगढी नगरपालिकाका ठूला राजनितिक दल नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका अध्यक्ष र प्रतिनिधिलाई पार्टी कार्यालयमा गएर ज्ञापन पत्र बुझाइएको हो । मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बोधन गराउन घोषणा पत्र मै समेटेर सबै पार्टीले चुनावी अभियान चलाउन र निर्वाचित प्रतिनिधिले ती सवाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने वातावरण तयार गर्न ज्ञापन पत्र बुझाएको मानव अधिकार समूह बाँसगढीका सदस्य दहवा थारुले बताउनु भयो । यसैगरी, बढैयाताल गाउँपालिकामा ०७८ चैत १८ गते ज्ञापन पत्र बुझाइएको थियो । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई पुरा गर्न घोषण पत्रमा उल्लेख गरेर जनताबिचमा चुनावी अभियान चलाउने प्रतिवद्धता गरेको मानव अधिकार समूह बढैयातालका संयोजक हरिबहादुर घर्तीले बताउनु भयो ।

चुनावी घोषणा पत्र लेखन तयारीमा रहेका राजनितिक दलका अध्यक्ष, प्रतिनिधिहरूले इन्सेक र मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालहरू लिखितरुपमा दिएकोमा धन्यबाद दिएका थिए । लिखितरुपमा प्राप्त बिषयहरूले  घोषणा पत्रलाई तथ्य परक बनाउन महत्वपूर्ण सहयोग पुग्ने नेकपा एमाले बाँसगढी नगरपालिकाका अध्यक्ष सुन्दर ढकालले बताउनु भयो । नेपाली काङ्ग्रेस बाँसगढी नगरपालिकाका अध्यक्ष लोहारी थारूले ज्ञापन पत्रमा उल्लेखित सबै अधिकारका सवाललाई घोषणा पत्रमा समेटेर अगाडि बढ्ने बताउनु भयो । बढैयाताल गाउँपालिका नेकपा एमालेका बढैयातालका सचिव प्रेमराज त्रिपाठी, नेपाली काङ्ग्रेस बढैयातालका सचिव अर्जुन थारु, नेकपा माओवादी केन्द्र बढैयातालका अध्यक्ष कर्णहादुर थापाले पनि शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार नागरिकको आधारभुत अधिकार भएको भन्दै घोषणा पत्रमा प्राथमिकतामा राखेर चुनावी अभियान चलाने प्रतिवद्धता गर्नु भयो ।

मानबहादुर चौधरी