शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था विषयक अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ चैत २४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र मानव अधिकार समुहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम चैत २३ गते गोदावरीमा सम्पन्न भएको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले आफ्नो कार्यकालमा पालिकाको सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र, दुरदराजका महिलाहरुलाई पायक पर्ने स्थानमा वर्थिङ सेन्टर, विद्यालयमा आईसीटी भौतिक संरचना निर्माण, किसानलाई सहजरुपमा मलबिउको व्यवस्था गरिएको र सुरक्षित आवासको अधिकारका लागि पहल भइरहेको बताउनु भयो । गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले वडा नम्बर २ मा बाहेक सबै वडाहरुमा जनशक्ती सहितको आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएकाले सबै नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन सक्ने वातावरण रहेको बताउनु भयो ।
गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रतिनिधी विष्णु अवस्थीले शिक्षा क्षेत्रमा सुधार ल्याउन नगर शिक्षकको व्यवस्था गरी पालिकाले रिक्त दरबन्दीलाई परिपुरण गरेकाले नयाँ शैक्षिक सत्रबाट शिक्षामा सुधार आउनुका साथै हाम्रो गोदावरी नामक स्थानीय पाठ्यक्रम लागु गरिएको बताउनु भयो । गोदावरी नगरपालिकाका कृर्षी शाखा प्रमुख सपना गुरुङ देउवाले प्रत्येक वडा कार्यालयबाट किसानलाई निःशुल्क रुपमा बिउविजन उपलब्ध गराइ रहेको बताउनु भयो । स्थानीय कृषि समुहकी अध्यक्ष शारदा बरालले पालिकाले सिजन अनुसार बिउ र मलको व्यवस्था गर्न नसक्दा कृषि उत्पादनमा कमि आउनुको साथै बजार नपाएको गुनासो गर्नु भयो ।
स्थानीय दुर्गा कडायत रावलले कानुनमा निःशुल्क शिक्षा भनिएपनि विद्यालयले बिभिन्न बाहानामा परीक्षा शुल्क, वार्षिक शुल्क भनेर शुल्क उठाइरहेको अवस्थामा पालिकाबाट अनुगमन गरी शुल्क उठाउने विद्यालयलाई कारवाही गर्नु पर्ने बताउनु भयो । स्थानीय नन्दा साउदले गत कात्तिक महिनामा परेको वर्षाले किसानको धानबालीमा क्षति भएको ६ महिना वितिसक्दासम्म पनि कृषकहरुले क्षतिपुर्ति पाउन नसकेको गुनासो गर्नु भयो । मानव अधिकार समुहका संयोजक नरदिप धामीले मानव अधिकार समुहले पालिकाबाट गरिने सेवा प्रवाहको अनुगमन गरी नागरिकलाई सचेत बनाउँदै स्थानीय सरकारलाई जवाबदेही बनाउन निरन्तर रुपमा काम गरिरहने बताउनु भयो ।
मैनामोती चौधरी