शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई घोषणा पत्रमा समेट्न माग गर्दै राजनीतिक दलहरूलाई ज्ञापन पत्र
दाङ । २०७९ वैशाख ४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ र मानव अधिकार समूह घोराही र तुलसीपुरले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई घोषणा पत्रमा समेट्न माग गर्दै विभिन्न राजनीतिक दलहरूलाई वैशाख ४ गते ज्ञापन पत्र बुझाएका छन् । नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेसका सभापति शंकर डाँगी र नेकपा माओवादी केन्द्रका घोराही नगर सचिव भागिदास चौधरीलाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझाउँदै टोलीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विभिन्न सवाललाई पार्टीका घोषणा पत्रमा समेट्न आग्रह गरेको थियो । ज्ञापन पत्रमा कक्षा १२ सम्म निशुल्क शिक्षा, विपन्न विद्यार्थीलाई छात्रवृत्ति, पाँच कक्षासम्मका बालबालिकाहरूलाई दिवा खाजा, विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्थापन, विषयगत शिक्षकको व्यवस्था, विद्यालय शान्ति क्षेत्र कार्यान्वयन, विद्यालयमा स्वास्थ्यकर्मी राख्नुपर्ने लगायतका विषयहरू उल्लेख गरिएको छ ।
यसैगरी, आधारभूत स्वास्थ्य सेवा निशुल्क, स्वास्थ्य विमा प्रभावकारी बनाउनु पर्ने, बडा पत्रमा औषधिको नाम नेपालीमा राख्नुपर्ने, सबै स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरको व्यवस्था गरिनुपर्ने, कृषकहरूलाई उन्नत विउ र मल सर्व सुलभरुपमा उपलव्ध गराउनुपर्ने, कृषि प्राविधिकको व्यवस्था हुनुपर्ने, भूमिहिन नागरिकलाई एक पटक जमिन र हरेक नागरिकलाई उपयुक्त आवासको व्यवस्था गरिनुपर्ने र खरको छाना मुक्त गरेर टिन लगाउने कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै नेकपा एमालेका बुढाथोकीले समयमै दलहरूको ध्यानाकर्षण गराएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले इन्सेकले दिएका सुझावलाई समेट्ने प्रतिवद्धता जनाउनु भयो । नेपाली काँग्रेसका सभापति डाँगीले नागरिकका अधिकार प्रति पार्टी गम्भीर रहेको र उठान गरिएका विषयहरू पार्टीका घोषणा पत्रमा समेट्ने प्रतिवद्धता जनाउनु भयो । यसैगरी, नेकपा माओवादी केन्द्रका घोराही नगर सचिव चौधरीले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका विषयलाई घोषण पत्रमा समेट्ने बताउनु भयो । यसअघि मानव अधिकार समूह तुलसीपुरका अध्यक्ष हुमाकान्त कँडेललगायतले नेकपा एमाले तुलसीपुर नपामा ज्ञापन पत्र बुझाउनु भएको थियो । इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुन, जिल्ला सहजकर्ता विनोद केसी, मानव अधिकार समूह घोराहीका अध्यक्ष लौटन चौधरी, सचिव प्रकाश घिमिरे सम्मिलित टोलीले पार्टी कार्यालयमा पुगेर प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूलाई ज्ञापन पत्र बुझाएका हुन् ।
जयनारायण पुन