शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय
रामेछाप । २०७९ वैशाख १४ गते
खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय कार्यक्रम ०७९ वैशाख १४ गते सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा संविधानमा भएको व्यवस्था र व्यहारमा त्यसको कार्यान्वयनको अवस्थाको बारेमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजन गरिएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको अन्तराष्ट्रिय तथा राष्ट्रिय व्यवस्थाको बारे जानकारी गराउनुभएको थियो । कार्यक्रमका बोल्दै स्वास्थ्य चौकी माकादुमकी इञ्चार्ज सरिता चौहानले स्वास्थ्य संस्थामा भौतिक संरचना व्यस्थित नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको बताउनुभयो ।
त्यस्तै सरकारले निःशुल्क उपलब्धन गराउने औषधि समेत बेला बेलामा अभाव हुँदा बिरामीको उपचारमा कठिनाइ हुने गरेको उहाँले अनुभव सुनाउनुभयो । विष्णु जनज्वति मावि माकादुमका प्रधानाध्यापक गणेश केसीले शिक्षा क्षेत्रको विकासको लागि सरकारको बजेट अझै कमी भएको बताउनुभयो । अहिले पनि प्राथमिक तहका शिक्षकको भरमा माध्यामिक तहका कक्षा सञ्चालन गर्नुपर्ने समस्या रहेको उहाँले बताउनुभयो । खाँडादेवी गाउँ कार्यपालिका सदस्य हरिमाया दमिनीले स्थानीय सरकारले सिमित स्रोतकाबीचमा पनि शिक्षा क्षेत्रको विकासको लागि काम गरिरहेको बताउनुभयो । उहाँले शिक्षक अभिभावकको पनि शिक्षाको गुणस्तर सुधारमा ध्यान जानुपर्ने बताउनुभयो । पूर्व वडाध्यक्ष पदमबहादुर बुढाथोकीले स्थानीय सरकारको कृषक लक्षित कार्यक्रम प्रभाकारी हुन नसकेको बताउनुभयो । उहाँले जग्गा बाँझिदै जाँदा खाद्य सङ्कट बढ्दै गएको बताउनुभयो । व्यवसायिक कृषिमा जोड दिन उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभयो । खाँडादेवी गाउँपालिका–६ का वडा सचिव मोहन केसीले भूकम्प पछिको पुननिर्माणको काम करिब सम्पन्न भएको बताउनुभयो । केही उजुरीको निर्णय हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
नबराज पथिक