शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
रौतहट । २०७९ वैशाख १७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न भएको छ । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलले दिवा खाजाको कार्यक्रम शिक्षा क्षेत्रमा प्रभावकारी रहेको उल्लेख गर्नुहुँदै यसले विपन्न समुदायका बालबालिकाको सङ्ख्या विद्यालयमा बढाएको बताउनु भयो । केहि विद्यायलयमा विषयगत शिक्षक र दरबन्दी अनुसार शिक्षक नरहेको सहभागीको प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत सिग्देले त्यसका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले तदारुकता लिनु पर्ने र सोको लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले स्थानी समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने यो परियोजना देशैभर नमुनाको रुपमा रहेको बताउनु भयो । यस कार्यक्रम अन्तर्गत स्थानिय स्तरबाट आएको शिक्षा, स्वास्थ्य, खाद्य र अवासका समस्याहरू प्रदेश स्तरमा छलफल गर्दै केन्द्रीय स्तरमा ती समस्याहरूलाई एकीकृत गरी सम्बन्धित निकायबाट नै समाधान गर्न पहल गर्ने र सम्बन्धित निकायमा समाधान हुन नसक्ने विषयबस्तुलाई नेपाल सरकार समक्ष पेश गरी समाधान गर्न संस्थाले पहल गर्ने संयोजक पासवानले बताउनु भयो ।
चन्द्रपुर नगरपालिकाका कृषि शाखा अधिकृत उमेश चौधरीले न्युन जनशक्ति र अत्यधिक सेवा ग्राहीको बिचमा काम गर्नु पर्ने अवस्था रहेको बताउनु भयो । यस वर्ष पालिकामा धानखेतीलाई प्रोत्साहन गर्न कृषि क्षेत्रमा अभ्याससहित शिक्षण कक्षा, माटो परीक्षण, प्रोत्साहन भत्ता र ५० प्रतिशत अनुदान लगायत कार्यक्रम संचालनमा रहेको उहाँले बताउनु भयो । पशु शाखाका अधिकृत दुर्गाप्रसाद चिमरियाले बजेट अभावका कारण कार्यक्रम सञ्चालनमा समस्या भइरहेको उल्लेख गर्नु हुँदै १५ प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउन अनुरोध गरेको बताउनु भयो । अहिले पशु रोग निदान कार्यक्रमलाई लक्षित गरिएको बताउनु भयो । स्वास्थ्य शाखा अधिकृत राजेश ठाकुरले स्वास्थ्य नीति आउन बाँकी रहेको उल्लेख गर्नुहुँदै स्वास्थ्य क्षेत्रमा योजना अनुसार बजेट विनियोजन नहुँदा योजना अनुसार कार्यक्रमहरू हुन नसकेको बताउनु भयो । विद्यालयहरूमा एक जना स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको, आमा समूहहरू बनाई स्वयंसेविकाहरूलाई प्रोत्साहन स्वरुप कार्यक्रमहरू आयोजना गरीएको, सुरक्षित मातृत्वको व्यवस्था भएको, न्यानो कपडा बितरण गरीएको र सेनेटरी प्याडको व्यवस्था गरीएको वहाँले बताउनु भयो । निवर्तमान कार्यपालिका सदस्य प्रेमा तिमल्सिनाले साना किसानहरू ओझेलमा परेको, कृषकलाई उत्पादनमुलक कार्यमा जोड्नुपर्ने र कर्मचारीहरूबिच समन्वय हुनुपर्नेमा जोड दिनु भयो । इन्सेक रौतहट पूर्व जिल्ला सहजकर्ता गोविन्द रामले शिक्षाको क्षेत्रमा चन्द्रपुर अस्पतालमा औजारहरूको कमी भएको, जनता आवास कार्यक्रम अपुरो तथा वास्तविक गरिवले नपाएको गुनासो गर्नु भयो । स्थानीय रोहितकुमार चौधरीले शिक्षाको क्षेत्रमा गुणस्तरीय शिक्षा नभएको, स्वास्थ्यको क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको र नागरिकको गुणस्तरीय खाद्यका लागि नगरपालिकाबाट अनुगमन नभएको गुनासो गर्नु भयो ।
कोपिला तिमल्सिना