शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको प्रभावकारिता तथा उपलब्धिका विषयमा इन्सेकद्वारा अनुगमन
सुनसरी । २०७९ जेठ २३ गते
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तरगत इन्सेक प्रदेश १ कार्यालयले जेठ २३ गते कोशी गाउँपालिकामा कार्यक्रमको प्रभाव र उपलब्धिका विषयमा अनुगमन गरेको छ । अनुगमनसँगै शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका विषयमा सरोकारवादलासँग छलफल गरिएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश १ कार्यालय प्रमुख प्रमुख नितु गड्तौलाले नेपालको संविधानको मौलिक हकमै उल्लेख भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अधिकारलाई पूर्ण कार्यान्वयन गर्न जरूरी रहेको बताउनुभयो । उहाँले संविधानमा उल्लेख भएका र सुनिश्चित गरिएका मौलिक हकलाई तीनै तहको सरकारले नागरिकलाई पूर्णप्रत्याभूत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतको तुलानामा प्रदेश १ मा शिक्षा, स्वास्थ्यको अवस्था राम्रो भएपनि अझै केही ठाउँमा कमजोरी देखिएकाले त्यसको निराकरणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनु भयो ।
इन्सेकद्धारा कोशी गाउँपालिकामा गठित मानव अधिकार समूह कोशीकी सदस्य गीता पौडेलले देशको संविधान तथा कानुनमा सबै अधिकार लीपिबद्ध भएपनि सर्वसाधारण नागरिकले त्यस्ता अधिकार पूर्णअनुभूत गर्न नसकेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ सुनसरी सदस्य मिकाईल आलमले मानव विकासका लागि शिक्षा, स्वास्थ्य, खाद्य र आवास आवश्यक भएकोले त्यसमा मानव अधिकार समूह र गाउँपालिकाको सार्थक पहल भएको बताउनु भयो । पत्रकार आलमले इन्सेक कोशी गाउँपालिका सञ्चालन गरेको तीन वर्षे कार्यक्रमबाट दुवै पक्षलाई लाभ भएको र त्यसको सार्थक प्रभाव नागरिकमा परेको बताउनु भयो । आलमले गाउँमा दुई ओटा प्रसूती गृह, आठ ओटै वडामा स्वास्थ्य संस्था सञ्चालन, पशु सेवा केन्द्र र शिक्षाका लागि प्राविधिक धारसहित कक्षा ११ को पढाइ सुरू भएको र विद्यालयको स्तोरोन्नती भएकाले त्यसमा इन्सेक र मानव अधिकार समूहको सकारात्मक प्रयास रहेको बताउनु भयो । कोशी गाँउपालिका कार्यपालिका सदस्य राजकुमार साहले राज्यले ऐन, कानुन मात्र निर्माण गरेर सम्भव नभएको उल्लेख गर्दै बनेका ऐन तथा कानुनहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । साहले इन्सेक र मानव अधिकार समूहले सुतेकाहरुलाई जगाउने काम तथा स्थानीय सरकारलाई सार्थक बनाउन सहयोग गरेको बताउनुभयो ।
कोशी गाउँपालिका–१ का वडाध्यक्ष सोभितनारायण यादवले संविधानमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको हकलाई मौलिक हकमै उल्लेख गरेको बताउनु हुँदै त्यसको कार्यान्वयनमा आफूहरूको पहल र प्रयास जारी रहेको बताउनु भयो । कोशी मावि पश्चिम कुशाहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादवले शिक्षा अनुगमन अधिकार, विद्यालय व्यवस्थापन गर्ने अधिकार, पूर्वाधार निर्माण, जनशक्ति पदपूर्तिको सिफारिस, कर्मचारी तथा शिक्षक दरबन्दी मिलान स्थानीय तहको मातहतमा रहेको भएपनि पूर्ण सुधार हुन नसकेकोले सुधारको खाँचो औल्याउनु भयो । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अञ्सारीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा काम गर्दै आएको इन्सेक र मानव अधिकार समूहको कार्यक्रमबाट गाउँपालिकालाई योगदान पुगेको बताउनु भयो । अध्यक्ष अञ्सारीले विकासमा हातेमालो र निगरानीको हिसावले पनि गाउँको वडावडामा आफूहरूको ध्यान नगएको ठाउँमा पनि इन्सेक र मानव अधिकार समूहको कार्यक्रमबाट गाउँपालिकालाई सहयोग पुगेको बताउनु भयो । कोशीका उपाध्यक्ष अनिता यादवले इन्सेक र मानव अधिकार समूहको कार्यक्रम निकै प्रभावकारी रहेकाले त्यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । समूहलाई गाउँपालिकाले पनि सहयोग गर्दै आएको र समूहले पनि गाउँपालिकालाई निकै योगदान गरेकाले निरन्तरता आवश्यकता रहेको उपाध्यक्ष यादवले बताउनु भयो ।
इन्सेक १, प्रदेश प्रमुख सोमराज थापाले इन्सेक देशभरका ७७ जिल्लमा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको र त्यसमा देशभरका ३५ जिल्लामा इन्सेककै पहलमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा परियोजना सञ्चालन भइरहेको बताउनु भयो । थापाले कार्यक्रम सञ्चालित स्थानीय तहहरूमा भएका राम्रा अभ्यासका पक्षहरू र सुधार गर्नुपर्ने पक्षहरु समेट्न अनुगमन तथा भ्रमण र छलफल गरेको बताउनु भयो । छलफल कार्यक्रमा कोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित कार्यपालिका सदस्यहरू सरजुग सरदार, राजकुमार साह, सरिताकुमारी मण्डल, नसिरन खातुन, शोभाकुमारी महेता र ज्ञानु खतिवडा तथा कोशी गाउँपालिकाका –१ का वडाध्यक्ष सोभित नारायण यादव, २ का ध्यानी उराँव, ३ का सुलेमान मञ्सुरी, ४ का इसराईल मियाँ, ५ का साह जमाल, ६ का जुडिलाल कोडोकीया, ७ का लालदेव सदा र ८ का बलराम कुमार क्षेत्रीको सहभागिता थियो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ प्रदेश १, अध्यक्ष लखनलाल साह, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खानाल, पूर्व उपाध्यक्ष बिनोद सुवेदी, इन्दिरा भट्टराई, पूर्व सचिव नवराज कट्टेल, महासङ्घ सुनसरी सदस्य मिकाईल आलम, इन्सेक प्रदेश १ कार्यक्रम अधिकृत बागमती कट्टेल, मानव अधिकार समूहका अध्यक्ष राजकुमार शर्मालगायतको सहभागिता थियो । इन्सेक र मानव अधिकार समूह कोशीले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । जेठ २३ गते इन्सेक प्रदेश १ कार्यालय र मानव अधिकार समूह कोशीले गाउँपालिकाका अध्यक्ष ऐयुव अञ्सारी, उपाध्यक्ष अनितादेवी यादवसहित १६ जनालाई सम्मान गरेको हो ।
जयकृष्ण यादव