शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०७९ असार १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजना तथा मानव अधिकार समूहको समन्वयमा विनयी त्रिवेणी गाउँपालिकामा जेठ ३१ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक नवलपरासी पूर्वका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले इन्सेकले विनयी त्रिवेणी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी आयोजना गरेको विभिन्न कार्यक्रम, त्यहाँ उठेका सवालहरूको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले निःशुल्क शिक्षा कार्यान्वयन, स्वास्थ्य संस्थामा निःशुल्क औषधिको उपलब्धता, नियमित बजार अनुगमन तथा खाद्य उपलब्धता र भूमिहिन सुकुम्बासी तथा सामान्तकृत समुदायमा आवासको सवालहरू, विभिन्न स्थानमा आयोजना भएको कार्यक्रममा सवालको रूपमा पहिचान भएको बताउनु भयो ।

 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौडले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा गरिरहेको कार्यहरूको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले अब बन्ने नीति तथा कार्यक्रम मार्फत मानव अधिकारको सवालहरूमा थप कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाउनु भयो । विगतको वर्षमा इन्सेकको सहकार्यमा गाउँपालिकाले मानव अधिकारको विषयमा तीन ठाउँमा कार्यक्रम समेत सञ्चालन गरेको स्मरण गर्दै उहाँले अधिकारको रक्षाको लागि सबै लाग्नुपर्ने बताउनु भयो । उहाँले गाउँपालिकामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्राथमिकताको साथ काम भइरहेको भन्दै नयाँ जनप्रतिनिधिहरू समेत निर्वाचित भई आएको अवस्थमा अब आउने कार्यक्रममा मानव अधिकारका सवालमा थप योजनाहरू अगाडि बढाइने बताउनु भयो ।

अनलाइन डेस्क