शिक्षा स्वास्थ्य र खाद्य अधिकारको विषयमा सार्वजनिक सुनुवाई
रामेछाप । २०७९ असार २ गते
मन्थली नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धि सार्वजनिक सुनुवाई ०७९ असार २ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार संरक्षण सञ्जाल रामेछाप, हुराडेक नेपाल दोलखा, सञ्चारीका समूह र दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाईमा नगरपालिकाभित्र शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न सहभागीले सुझाव दिनुभएको थियो । कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले नागरिक समाजले गरेको निगरानीको क्रममा कतिपय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी आफ्नो काम प्रति जिम्मेवार नदेखिएको भन्दै ध्यानाकर्षण गराउनुभयो । मानव अधिकार संरक्षण सञ्जालकी सदस्य पार्वती पाठकले गाउँमा रहेका विद्यार्थी कम भएका विद्यालयका शिक्षकले आफ्नो जिम्मेवारी भुल्दै गएको, शिक्षकहरू समयानुकूल अपडेट नहुँदा पठन पाठनमा समस्या भएको, बनेका सुविधा सम्पन्न विद्यालय भवनहरू समेत अव्यवस्थित रहेको र विद्यालयका शौचालयहरू प्रयोग नै गर्न नसक्ने अवस्थामा रहेको भन्दै त्यसमा सुधार गर्न सकिँदैन र ? भन्दै प्रश्न गर्नुभयो । गैरसरकारी संस्था महासङ्घ रामेछापका उपाध्यक्ष रत्न कँडेले नागरिक निगरानी बढाउन नगरपालिकाले नीति तथा कार्यक्रममा के कस्ता कुरा समेट्दै छ ? भन्ने प्रश्न गर्नुभयो । अधिकारकर्मी लक्ष्मी थापाले स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई रचनात्मक काममा लगाउन के कुराले छेक्यो ? भन्दै प्रश्न गर्नुभयो । बाल क्लबकी गृष्मा कार्कीले बालबालिकाको नेतृत्व विकासको लागि कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ ? भन्ने प्रश्न गर्नुभयो ।
पत्रकार नवराज विकले रामेछापका सबै पालिका मिलेर मन्थलीमा सुविधा सम्पन्न अस्पताल खोल्न सकिँदैन ? भन्दै प्रश्न गर्नुभयो । स्वास्थ्यकर्मी सीता सुवेदीले बिमाको औषधी एकै ठाउँमा नपाउँदा नागरिकले दुःख पाएको गुनासो गर्नुभयो । पत्रकार मिलन विकले स्नातक तह पढिरहेका विद्यार्थीलाई जीवन उपयोगी सिप प्रदान गर्ने के योजना छ ? भन्दै नगरपालिकालाई प्रश्न गर्नुभयो । पत्रकार नवराज श्रेष्ठले अङ्ग्रेजी र नेपाली विषयका पठन पाठनको विवादले विद्यार्थीलाई नै अन्योलमा पारेकोले त्यसमा कसरी सुधार गर्न सकिन्छ ? भन्दै प्रश्न गर्नुभयो । स्थानीय पुरुषोत्तम घिमिरेले मलको अभाव कहिलेसम्म हुन्छ ? भन्दै प्रश्न गर्नु भएको थियो । सहभागीले मन्थली नगरपालिका आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम बनाउने क्रममा रहेकाले अब शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आर्थिक र सामाजिक विकासमा केन्द्रित नीति, कार्यक्रम तथा बजेट बनाउन सुझाव दिएका छन् । कार्यक्रममा मन्थली नगरपालिका सूचना अधिकारी उपसचिव हेमन्त बुढाथोकीले नागरिकबाट आएका सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाको स्वास्थ्य शाखा संयोजक केशव फुयाँलले नागरिकाबाट आउने रचनात्मक सुझावले मन्थली नगरपालिकाको स्वास्थ्य क्षेत्रको सुधारका लागि सहयोग पुग्ने बताउनुभयो । मन्थली नगरपालिका वडा नं १३ का वडा अध्यक्ष नवराज थापामगरले कार्यक्रमबाट शिक्षा र स्वास्थ्य सुधारका लागि धेरै रचनात्मक सझावहरू आएकाले यसको यथार्थता बुझेर कार्यान्वयन तहमा लैजाने बताउनुभयो । उहाँले आफूहरू नयाँ भएकोले पनि धेरै कुरा बुझ्न बाँकी रहेको बताउनुभयो । मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष होमप्रसाद पौडेलले केन्द्र सरकारले नै मल ल्याउन नसकेकोले मलको समस्या भएको बताउनुभयो । उहाँले नागरिकले उठाउनु भएका कतिपय विषयमा कार्यपालिका बैठकमा समेत घनिभूत छलफल भएको बताउनुभयो ।
नबराज पथिक