शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिरहा । ०७६ बैशाख १७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा बैशाख १६ गते लक्ष्मीपुर पतारी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाईजबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बारे सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सेवाग्राहीहरूले शिक्षा गुणस्तरमा सुधार गर्नुपर्ने, विधार्थी अनुसारको शिक्षकहरु दरबन्दी गरीनु पर्ने, स्वास्थ्य संस्थामा नियमित औषधी बितरण गरिनुपर्ने र कृषि विकाससँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनु पर्ने लगायतका मागहरू गरेका थिए । कार्यक्रममा स्थानीय तहको नयाँ संरचना अनुसार शाखा स्थापना भएपनि सेवा प्रवाह राम्रो नहुँदा सेवा पाउन नसकेको सहभागीहरूले गुनासो गरेका थिए ।
कार्यक्रममा उठेका सवालको जबाफ कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामबल्लभ साहले गाउँपालिकामा शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रमा समस्यै समस्या भए पनि समाधानको लागि कानूनी परिधि भित्र बाधीनु परेकोले चाहेर पनि समयमा समस्या समाधान गर्न कठिनाई भएको बताए । विधार्थी अनुरुपको शिक्षक नियूक्ति गर्ने अधिकार गाउँपालिकालाई नभएको र शिक्षकको अभावले पठन पाठनमा समस्या भएको उनले बताए । त्यसैगरी औषधी खरीद प्रकृयामा रहेकोले औषधी आउन केही ढिला भए पनि गाउँपालिकाले समस्याहरुलाई समाधान गर्न र मानव अधिकारको प्रत्याभूति गराउन अग्रसर रहने उनले बताए ।

कार्यक्रममा इन्सेक प्रदेश २ कार्यालयका प्रदेश संयोजक राजु पासवानले इन्सेक सधै मानव अधिकार र समाजिक न्यायको निम्ति काम गर्ने संस्था भएको बताए । शिक्षा, स्वास्थ्य र खाध अधिकारको सवालमा रहेका समस्याहरुको समाधानका लागि सेवा ग्राहीहरुलाई अधिकारबारे सचेत गराउँदै सेवा प्रदायकहरुलाई जवाफदेही बनाउन इन्सेकले परियोजना मार्फत पुलको रुपमा काम गरेको प्रदेश संयोजक पासवानले बताए । स्थानीय समस्याहरु समाधान गर्न स्थानीय सरकार रहेकोले सरकारले काम गरे नगरेको संस्थाले निगरानी गर्ने र समाधानको लागि हातेमालो गर्दै जाने संयोजक पासवानले बताए ।
-दुर्गा परियार