शिक्षा, स्वास्थ्य र वातावरणीय अधिकारसम्बन्धी छलफल सम्पन्न
कैलाली । २०८० फागुन २२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम शिक्षा, स्वास्थ्य तथा वातावरणीय अधिकारसम्बन्धी छलफल फागुन २२ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले शिक्षा, स्वास्थ्य र वातावरणीय अधिकारका सवालहरुलाई तथ्यमा आधारित भएर राज्यलाई खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो । गैरसरकारी संघसंस्थाका अध्यक्ष देवी खनालले बातावरणीय अधिकारका सवाललाई उठान गर्न र राज्यलाई दबाव दिन वातावरण विनास भएको स्थानको अध्ययन गरी प्रमाण संकलनमा ध्यान दिनु पर्ने बताउनु भयो । फियान नेपालका संयोजक मुकुण्ड रानाले वातावरण विनासका कारण समुदायमा प्रत्येक्ष प्रभाव परिरहेकोले समुदाय तथा उपभोक्ताहरुलाई अग्रसर गराउनका लागि पहल गरिनु पर्ने बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशस्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालका संयोजक गोविन्द सापकोटाले स्थानीयस्तरमा मानव अधिकार समुहले विद्यालयमा शिक्षा, स्वास्थ्य, लागुऔषधका सन्दर्भमा सचेतनामूलक कार्यक्रमसँगै बातावरणीय अधिकारको बारेमा विद्यार्थी र सरोकारवालाहरुसँग छलफल गरिदै आइएको बताउनु भयो । पत्रकार महासंघ, कैलालीका सचिव प्रेमलाल चौधरीले कैलारी गाउँपालिकामा भारतसँगको खुल्ला नाकाका कारण चोरीतस्करीका कारण कालोबजारी बढेकाले स्थानीय किसानहरुको उत्पादन बजार मूल्य नपाउदा मर्कामा पर्दै आइरहेको बताउनु भयो । आधिकारकर्मी नरदिप धामीले गोदावरी नगरपालिकामा रहेका नदीहरुबाट अनावश्यक रुपमा निर्माण सामाग्री गिट्टी बालुवाको उत्खनन्ले चुरे क्षेत्र जोखिममा रहेकाले चुरे संरक्षणका लागि स्थानीय समुदायसँग छलफल गरी पीआइएल गर्नका लागि आवश्यक प्रमाण संकलन गर्न आवश्यक रहेको बताउनु भयो ।
मैनामोती चौधरी