शुद्ध खानेपानी र सिँचाइको व्यवस्थापन गर्न माग गदै सरोकारवाला निकायलाई ध्यानाकर्षण
जुम्ला । २०८० वैशाख २५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार रक्षक सञ्जाल तथा सिफारिस संयन्त्रको अगुवाईमा नागरिकलाई शुद्ध खानेपानी र सिचाईको व्यवस्थापन गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सिफारिस संयन्त्रका संयोजक तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय जुम्लाको ध्यानाकर्षण गरिएको हो । तातोपानी गाउँपालिका –१ वाईराँका गाउँका नागरिकले तिला नदीको दुषित पानी लिफ्टमार्फत तानेर अहिले पनि खानेपानी खाईरहेका छन् । उक्त गाउँले शुद्ध र प्रयाप्त खानेपानी खान पाईरहेका छैनन् । यस बिषयमा जिल्लाको सरोकारवाला निकायले तत्काल अनुगमन गरी प्रयोगशाला परीक्षण र पानी शुद्धिकरण गरेर खानेपानीको व्यवस्थापन गर्नका लागि ध्यानाकर्षण गरिएको सिफारिस संयन्त्रका संयोजक शाहीले बताए । यस्तै गत २०७९ असोज महिनाको तेस्रो साता आएको अविरल वर्षासँगै बाढीपहिरोले हिमा, सिंजा, कनकाससुन्दरी, तिला, तातोपानी, चन्दननाथ नगरपालिकाका सहित जुम्लाका स्थानीय तहका खेतीयोग्य सिँचाइ नहर कुलाहरु भत्किएका छन् ।
हिमा, सिंजा, कनकासुन्दरी, तिला र तातोपानी क्षेत्रमा धेरैजसो मार्सीधानका फाँट बगरमा परिणत भएका छन् । चन्दननाथ नगरपालिका – १ मा पहिरोले भत्किएर माझकुलो, ठिन्के कुलो नहर समेत मर्मत नगरेर सिचाई कार्य प्रभावित भएको छ । सिँचाइ योग्य खेतमा सिँचाइ नहुदा जेठ महिनामा रोपाई नै प्रभाव भएर खाद्य सुरक्षा समेत प्रभावित हुने देखिएकोले सिँचाइ गर्ने व्यवस्थापन गर्न ध्यानाकर्षण गरिएको हो । सिँचाइको कारणले हिउदे जौँ बाली नष्ट भएको छ । मानव अधिकार रक्षक संजाल जुम्लाका संयोजक राजबहादुर महतले भने अब जेठ महिनामा रोपाई सुरु हुदैछ । नहर कुला मर्मत भएका छैनन् । किसान रोपाई हुने नहुनेमा चिन्तित छन् । यसले गर्दा सरोकारवाला निकायले यथासिघ्र सिँचाइको समस्या समाधान गर्न आवश्यक देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाईमा जुम्ला जिल्लामा मानव अधिकार रक्षक सञ्जाल र सिफारिस संयन्त्र गठन गरिएको छ । यिनै दुई ओटा समूहले विशेष गरी जातीय विभेद तथा महिला हिंसाविरुद्ध वकालत गर्दै आएको छ । जिल्लामा देखिएका आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारको उल्लङ्घनका विषय उठान गर्दै आएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले चन्दननाथ नगरपालिका–१ ठिन्के कुलो विषयमा सरोकारवाला निकाय र कृषक बीच छलफल हुदै आएको छ । यो विषयमा थप छलफल गरेर समस्या समाधान गर्ने छौँ भन्नु भयो ।
मानदत्त रावल