संयुक्त अनुगमन तथा बैठक सम्पन्न

सुर्खेत । २०७७ मङ्सिर १६ गते

 

वीरेन्द्रनगर नपा–११ झुप्राखोलाका वादी समुदायले इन्सेकले आफ्नो समुदायको अधिकार प्राप्तिका लागि आवाज उठाउन सहयोग गरेको बताएका छन् । कियोस परियोजना अन्तर्गत इन्सेक केन्द्र र कर्णाली प्रदेश कार्यालयबाट इन्सेकका व्यवस्थापन विभाग प्रमुख सुभेच्छा खड्काको नेतृत्वमा मङसिर १५ गते झुप्राखोला पुगेको संयुक्त अनुगमन टोली समक्ष वादी समुदायले सो कुरा बताएकाहुन । वर्षौंदेखि झुप्राखोलाको गिट्टी वालुवा निकालेर जीवन निर्वाह गर्दै आएका वादी समुदायले इन्सेकले आफ्नो अधिकारको बारेमा बोल्न सिकाएको, झुप्रा खोलामा खोप केन्द्र पुनस्र्थापना गर्न सहयोग गरेको र दोस्रो दर्जाको रूपमा हेरिने समुदायलाई अन्य नागरिकसँग व्यवहार गर्ने वातावरण तयार गरिदिएको उल्लेख गरेका थिए ।

तारा वादीले इन्सेकले आफ्नो अधिकारको बारेमा आवाज उठाउन सिकाएकै कारण अहिले हामी अन्य नागरिक सरहको जीवन बिताउन पाएको चर्चा गदै हाल आफनो समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउनु भयो । यस्तै सुशिला वादीले अधिकारको बारेमा बोल्ने हौसला तथा साथ दिएपछि अहिले आफूहरूलाई अन्य समुदायले हेप्ने प्रवृति हटेको उल्लेख गर्नु भयो । सम्झना र पार्वती वादीले इन्सेकले आफ्ना कार्यक्रमहरूमा सहभागी गराउन थालेपछि पछिल्लो समयमा सरकारी तथा गैरसरकारी संघसंथाहरूले पनि आफुहरूको खोजी गर्ने र कार्यक्रमहरूमा सहभागी गराउन थालेको उल्लेख गर्नु भयो । यस्तै संयुक्त अनुगमन टोलीले मङसिर १५ गते इन्सेकद्वारा वीरेन्द्रनगर नपामा गठित मानव अधिकार समूहका सदस्यहरूसँग बैठक पनि गरेको थियो । छलफलमामा मानव अधिकार समूहले गरेका गतिविधी, प्रक्रिया र उपलब्धीको बारेमा छलफल गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दिलबहादुर चौधरीले बताउनु भयो ।

बैठकमा मानव अधिकार समूहका सदस्य समिना वानुले धार्मिक अल्पसङ्ख्यकहरूको अधिकारको बारेमा इन्सेकले आवाज उठाउन सिकाएको बताउनु भयो । यस्तै बैठकमा सहभागीहरूले मानव अधिकार समूहको दिगोपनाका लागि इन्सेकले आवश्यक नीति तथा योजना ल्याउनुपर्ने उल्लेख गर्नु भयो । समूहमार्फत आवाज उठाउँदा वीरेन्द्रनगर नपाको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार सुनिश्चित गर्न जिम्मेवार निकायहरू जवाफदेही बन्न थालेको समूहका सदस्य सशिराम आचार्यले बताउनु भयो । बैठकमा इन्सेकका व्यवस्थापन विभाग प्रमुख खड्काले परियोजनाको प्रभाव र उपलब्धीको बारेमा समुहका सदस्यहरूसँग स्थलगत रुपमा बुझ्न पाउँदा खुशी लागेको बताउनु भयो । संयुक्त अनुगमन तथा बैठकमा इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदी, इन्सेक केन्द्रीय कार्यालयका लेखा अधिकृत सुधा पौडेल, वादी समुदायका अगुवाहरू र मानव अधिकार समूहका सदस्यहरूको उपस्थिती रहेको थियो ।

दुर्गा थापा